शेष घले अष्ट्रेलियाकै ९९ औ धनी र पत्नी जमुना सयौ नम्वरमा

शुक्रबार, जेष्ठ १५, २०७२ | १०:०३:२७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं जेठ १५ : गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ ५० नम्वर उक्लिएर अस्ट्रेलियाका सबैभन्दा धनी सय व्यक्तिभित्र परेका छन् ।
गत वर्ष १ सय ५० औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अघिल्लो बर्ष १ सय ५१ औं नम्बरमा रहेकी उनकी पत्नी जमुना यो बर्ष सय स्थानमा परेकी छन् ।
अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले शुक्रबार सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा परेका हुन् । घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं हुन् ।
अस्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक समेत रहेका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी रहेको छ । सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अस्ट्रेलिया पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको स्थापना गरेका हुन् । अहिले एमआइटीमा झण्डै ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले उक्त इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर हुन् भने उनकी पत्नी गुरुङले बिजनेस र मार्के्टिङ विभाग सम्हाल्दै आएकी छिन् ।
उनीहरुले मेलवर्न सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा व्यवसायिक आवास विकाशमा समेत लगानी गरेका छन् । सन् २०१० मा डेढ करोड डलरमा आर्गस भवन खरीद गरी घले दम्पतिले ५ करोड डलर लगानी गरेर त्यसको स्तरोन्नती गरे । घले दम्पतिले फ्लागस्टाफ गार्डेन क्षेत्र नजिकै २ सय कोठाको ब्यांक्वेट होटल, ५ सय अपार्टमेन्ट तथा खुद्रा व्यापारिक क्षेत्रको निर्माण गर्ने योजना बनाएका बिआरडब्लुले जनाएको छ ।

प्रतिकृया