आजदेखि निजि र सार्वजनिक विद्यालय खुले, पहिलो एक हप्ता पढाई नहुने

आइतवार, जेष्ठ १७, २०७२ | ०८:१५:१५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, जेष्ठ १७ : सरकारले गत बैशाख १२ गते गएको भूकम्पको ढेड महिनापछि आजदेखि निजि र सार्वजनिक विद्यालयहरु खुलाएको छ ।

भूकम्पका कारण विद्यालय भवनहरुमा असर पुगेपछि झण्डै ढेड महिनादेखि विद्यालयका पठन पाठन बन्द गरिएको थियो । ‘विद्यालय खुलेपछि चहलपहल हुन्छ । समाजलाई जीवन्त बनाउन र पीडा बिर्साउन पनि शैक्षिक संस्थाले सहयोग गर्छन,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने, ‘हाम्रो जोड समाजलाई सामान्यीकरण गर्नु नै हो ।’
सरकारले विद्यालय खोलेपछि पठन पाठनभने तत्कालै अघि नबढ्ने जनाएको छ । ‘विद्यालय खोलेर विद्यालय आउने वातावरण मात्र बनाउन लागिएको हो’ लम्सालले भने, ‘पठनपाठन गरिहाल्ने भन्ने होइन ।’
उपत्यकामा निजी र सरकारी गरी झन्डै २ हजार विद्यालयमा साढे ५ लाख विद्यार्थी अध्ययनरत छन् । उनीहरू विद्यालय आउजाउ गर्दा जनजीवन नै गतिमान हुन्छ । लगातारको पराकम्पनले विद्यार्थीमा भय र तनाव छ ।
शैक्षिक संस्था खुलेपछि गाउँ गएका सर्वसाधारण फर्कने र बजारमा चहलपहल बढ्ने प्याब्सन महासचिव डीके ढुंगानाले बताए। ‘सुनसानमा बढी त्रास हुन्छ। आवागमन बढ्नासाथ त्रास हराउँदै जान्छ,’ उनले भने, ‘केटाकेटी घरमा भएपछि अभिभावक उनीहरूकै हेरचाहमा बस्नु परेको छ। छोराछोरी विद्यालय गएपछि आफ्नो व्यवसायमा जान्छन्।’ बेलैमा विद्यालय नखोल्दा शैक्षिक क्यालेन्डर पूरा नसकिने सञ्चालकहरूको भनाइ छ।
सरकारको क्यालेण्डर अनुसार एक शैक्षिक सत्रमा २ सय २० दिन अनिवार्य पढाइ हुनुपर्छ। यहीअनुसार कोर्ष बनाइएको हुन्छ । शिक्षा मन्त्रालयले विद्यालय खोलिसकेपछि विद्यार्थीको मनोविज्ञान ख्याल गर्न सुझाएको छ । ‘सुरुकै दिनमा अग्लो भवनमा राख्नु हुदैन । भुइँतलामा राखेर अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्छ,’ लम्सालले भने, ‘कक्षाकोठा पुग्दैन भने सिफ्टमा सञ्चालन गर्नुपर्छ ।’

प्रतिकृया