तराई आन्दोलनको माग प्रष्ट छैन : राष्ट्रपति भण्डारी (ताजा अन्तरवार्ता)

शुक्रबार, कार्तिक १३, २०७२ | ०८:२६:३६ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, कात्तिक १३ : नवनिर्वाचित राष्ट्रपति डा. विद्यादेवी भण्डारीले सबैको इच्छा एकै पटक पुरा नहुने बताएकी छन् । उनले तराईमा जारी आन्दोलनप्रति लक्षित गर्दै संविधानको कुन धारामा के कुरा पुगेन भन्ने प्रष्ट नभएको बताएकी हन्।bhandari

राष्ट्रपतिको सपथ लिए लगत्तै सरकारी संचार माध्याम नेपाल टेलिभिजनलाई अन्तरवार्ता दिदै उनले आफ्नो समुदायमात्रै खोजेर हिँड्ने मानिस कहाँ पुग्छ भन्ने ठेगान नरहेको भन्दै सर्वप्रथम हामीले नेपाली भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् । ‘हामी सबैका इच्छा आकांक्षाहरु एकैचोटि पूरा हुन सक्दैनन् । ‘.संविधानको कुन धारामा के चाहिँ कुरा पुगेन ? त्यो हामीले छलफल गर्नुपर्छ’ भण्डारीले भनिन् ।
अन्तवार्तामा उनले सबै नेपालीहरुले सर्वप्रथम नेपाली भएकोमा गौरब गर्नुपर्ने र सबैले एकतावद्ध भई नवनिर्माणमा लाग्नुपर्ने बताइन् । संविधानमा असन्तुष्ट रहेका दलसँगको वार्ताको प्रशंगमा उनले भनिन् ‘राष्ट्रपतिले वार्ता गर्ने होइन, सबै काम सरकारले गर्छ ।’
सरकारी टेलीभिजनमा प्रसारित राष्ट्रपति भण्डारीको अन्तरवार्ताको सम्पादित अंश यस्तो छ ।
नेपालको प्रथम महिला राष्ट्रपति चयन भएकोमा तपाईलाई कस्तो लागेको छ ?
मलाई खुशी लागेको छ । म खुशी व्यक्त गर्न चाहन्छु । सबै नेपालीसँगै यो नेपाली महिलाहरुका लागि पनि खुशीको क्षण हो भन्ने मलाई लाग्छ ।

संविधान जारी भइसकेपछि यसको कार्यान्वयनका पनि चुनौतीहरु छन् । राष्ट्रपति भइसकेपछि अब यो संविधान कार्यान्वयनमा यहाँको भूमिका कस्तो रहन्छ ?
संविधानको परिधिभित्र रहेर संविधानलाई कार्यान्वयन गर्ने हो । संविधान कार्यान्वयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । अहिलेको संविधान दुईरदुईपटक संविधानसभाको निर्वाचनबाट बनेको संविधान हो । त्यो मानेमा अलि परिपक्व नै छ भन्ने हामीलाई लागेको छ । यो संविधानलाई कार्यान्वयन गर्न राष्ट्रपतिको हैसियतबाट मैले गर्नुपर्ने काम गर्छु ।

संविधान जारी गर्नुभन्दा अघि यो संविधानमा महिलाहरुको अधिकार कम भएको हो कि भनेर आवाज आइरहेको अवस्थामा पहिलो महिला राष्ट्रपति बन्नुभएको छ, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?
कहिलेकाहीँ केही पनि नभइरहेको अवस्थामा एकैचोटि धेरै कुराहरु लिन खोज्दाखेरि ती सबै पूरा नहुन पनि सक्छन् । पछिल्लो समयमा महिलाहरु राजनीतिक रुपले अगाडि बढेका छन् र सक्षम पनि छन् । यस सन्दर्भमा निरन्तरता, सक्रियता र राष्ट्रिय भावनालाई ध्यानमा राखेर अगाडि बढेको खण्डमा नेपाली महिलाहरुले धेरै अधिकार प्रयोग गर्न सक्ने वातावरणचाँहि बनेको छ । तर, वातावरण बनेको छ भनेर आफूले प्रयास नगरिकन त अधिकारहरु लिन सकिने कुरा पनि होइन ।
तर, विगतको तुलनामा अहिलेको संविधानमा नेपाली महिलाहरुलाई धेरै अधिकारहरु व्यवस्थित गरिएको छ । तर, त्यो व्यवस्थित अधिकार लिनका लागि आफूले पनि त्यही ढंगले प्रयास गर्नुपर्छ ।
जति ठूलो धारा भए पनि हामी जो पानी लिन जान्छौं, जत्रो भाँडो छ, त्यति नै पानी आउने हो । त्यसैले गर्दाखेरि हामीले चौतर्फी विकासमा ध्यान दिनुपर्छ ।

तपाईले राष्ट्रपति बनिहाल्छु भन्ने कल्पना गर्नुभएको थियो ?
मैले उम्मेवार बन्दा र अन्तिम परिणाम नआउँदासम्म सबै भोटको परिस्थितिलाई हेर्दा त मेरो निश्चितैजस्तो थियो । साथीहरुले पनि निश्चित छ, सुनिश्चित छ भन्नुभएको थियो, तर चुनाव त चुनावै हो नि । अन्तिम परिणाम घोषणा नहुञ्जेलसम्म त म भएँ भनेर कसरी मान्ने र । मैले त्यस्तो मानिँन ।

व्यवस्थापिका संसदमा सभामुखले राष्ट्रपतिमा निर्वा्चित भएको घोषणा गर्दाखेरि कस्तो महसुस भयो ?
अब मलाई एउटा जिम्मेवारी आएको छ । यो जिम्मेवारीलाई मैले पूरा गर्नुपर्ने भयो । राजनीतिमा सक्रिय जीवन बिताइरहेको, यो एउटा संवैधानिक पद भएको हुनाले यसका सीमाहरु हुन्छन् । यसका लागि, देशका लागि काम गर्दा ठीकै हुन्छ भनेर, यो जिम्मेवारी बहन गर्नुपर्छ । खुशी हुने भनेर छताछुल्ल हुने स्थिति पनि भएन । दुखी त कसरी हुने र, राष्ट्रको एउटा सर्वोच्च, गरिमामय पदमा पुग्दाखेरि एकदम खुशी लागेको छ ।
तर, अब मेरा पनि अब केही सीमाहरु, हिजोको जुन स्वतन्त्रता थियो, त्यसमा अब सीमा लाग्यो भन्नेचाँहि मलाई लाग्यो ।

तपाई राष्ट्रपति भैसकेपछि सारा जनतालाई के भन्न चाहनुहुन्छ ?
नेपालका अगाडि ठूलो अवसर छ । अवसरसँगसँगै चुनौतीका पहाडहरु पनि त भइ नै हाल्छन् । म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नवनिर्माणको कार्यमा अगाडि बढ्न आग्रह गर्न चाहन्छु । अहिलेको जुन अवस्था छ, यसमा हामी संघर्ष गरेर अगाडि बढ्यौं भने छोटो समयमा नेपालमा आर्थिक उन्नति गर्न सक्छौं भन्ने मलाई लागेको छ । तर, हामीवीचको एकता, हाम्रो भावनात्मक एकता कायम हुनुपर्छ । हामी नेपाली हौं र नेपाली भएर गौरव गर्दै नेपालको नाम उच्च राख्नका लागि काम गर्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
मुलुकमा अहिले जटिल परिस्थिति छ । दलहरुले आफ्ना मागहरु राखिराखेको अवस्था छ । अर्का्तिर भारतले अघोषित नाकाबन्दी गरिराखेको छ । पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मधेसी मोर्चाले आन्दोलन गरिराखेको छ । उहाँहरुलाई वार्ताका लागि राष्ट्रपतिको हिसाबले के भन्न चाहुनुहन्छ ?
राष्ट्रपतिले वार्ता गर्ने होइन । सबै काम सरकारले गर्छ । राष्ट्रपतिको काम भनेको संविधानमा परिभाषा गरिएको संविधानको मर्म अनुसार त्यसको पालना गर्ने, संरक्षण गर्ने र संयोजन गर्ने निश्चित कुराहरु छन् । त्यसअनुसार मैले गर्ने हो । मैले चाँहि वातावरण बनाउने, राष्ट्रिय एकताको भावना सार्वभौमिकताको रक्षा, भौगोलिक अखण्डता र सबै समुदाय, नेपाल सबै जातको फूलबारीका रुपमा रहेको नेपाल, हामी आपसमा मिलेर बस्नुपर्छ । हामी सबैका इच्छा आकांक्षाहरु एकैचोटि पूरा हुन सक्दैनन् । त्यसैले मेरो काम भनेको एउटा राष्ट्रिय भावनाका साथ सबैलाई एकताको सूत्रमा कायम राख्नका लागि मैले कोशिस गर्ने हो ।

यो संविधानलाई कसरी कार्यान्वयन गर्ने विचार गर्नुभएको छ ?
यो त क्रमशः हुँदै जाने कुरा हो । समय छ । निर्वाचन आउँछन् । निर्वाचनबाट एक चरण लागू हुन्छ । कति कानूनहरु बनाउनुपर्छ त्यसबाट अर्को लागू हुन्छ । धेरै कानूनहरु बनाउनुपर्ने छ, पुराना कानून पनि संशोधन गर्नुपर्ने छ । त्यसैले ठ्याक्कै यो समयसीमा भन्ने त हुँदैन । तर, मलाई लाग्छ, आउने दुई वर्ष, तीन वर्षमा, नयाँ संविधान पूर्णरुपमा लागू हुन सक्छ ।
राष्ट्रपति भनेको सर्वोच्च पद हो । यो पदमा पुगेको मान्छेलाई सजिलै भेट्न नसकिएला ।

तपाईलाई भेट्न चाहने पब्लिकहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
त्यो त विभिन्न ढंगले गर्न सकिन्छ । पत्रको माध्यमबाट पनि पठाउन सकिन्छ र भेटघाटको व्यवस्थालाई पनि हामीले प्रणालीअन्तरगत व्यवस्थित गर्न सकिन्छ ।
राष्ट्रपति भनेको एकदमै चार दिवारभित्रको जस्तो कुरा पनि भएन । सिस्टममा त बस्नैर्पयो सबैजना । यो सिस्टमबाट भेट्न सकिन्छ । राष्ट्रपति पनि एउटा राजनीतिक कार्यक्षेत्रबाट आएको राजनीतिक कार्यकर्ता नै हुन्छ । त्यसको जुन संवैधानिक दायरा हुन्छ, त्यो दायरा ननाघिकन सबै जनसमुदायहरुसँग सम्पर्क गर्न सकिन्छ ।

नेपाल धेरै जातजाति मिलेर बनेको देश हो, उनीहरुका आआफ्ना आकांक्षाहरु छन् । तपाई देश विदेशमा रहेका यी सबै नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा त म नेपाली हुँ भन्ने कुरामा सबैले गौरब गर्नुर्पयो । नेपाली नागरिक हो । मानिस हो । मानवताको दृष्टिकोणले पनि सम्झनुपर्छ हामीले । अन्तरराष्ट्रिय क्षेत्रमा पनि मानवता र भातृत्वपूर्ण सम्बन्ध हामीले राख्नुपर्ने हुन्छ । र, नेपालभित्र पनि नेपालीको बन्धुत्वपूर्ण सम्बन्ध राख्नुपर्छ । त्यो बन्धुत्वपूर्ण सम्बन्ध कायम गर्न त्यो भावनाभित्र रहन प्रयास हुन्छ ।
समुदाय विशेष, हिमाल पहाड, तराई, पूर्व र पश्चिम सामाजिक बनोट भएको देश हो । भौगोलिक रुपमा पनि मिश्रति जातीय र सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण भएकाले गर्दाखेरि आफ्नो मात्रै समुदाय खोजेर हिँड्यौं भने त असम्भव कुरा हो, त्यो मान्छे कहाँ पुग्छ भनेर भन्न सकिँदैन ।
त्यसैले पहिले नेपाल खोज्ने, नेपाली भनेर आफूलाई स्थापित गर्ने, चिन्ने, चिनाउने र बन्धुत्वको भावना जगाउने, जागृत गर्ने, सुदृढ गर्ने र त्यसका साथै एउटा विश्व मानवताको भावना राखेर हिँड्ने । त्यसरी हामी जानुपर्छ र मेरो प्रयास भनेको चाहे पूर्वपश्चिम, उत्तर दक्षिण जहाँसुकै बस्ने, देशको जुनसुकै भूभागमा बस्ने नेपालीले पनि नेपाली भएकोमा गौरब महसुस गर्ने वातावरण बनाउने हुनेछ । कुनै लैङकि समुदाय वा धर्म सम्प्रदायप्रति बायसनेस देखियो पनि होला, तर त्यस्तो गर्नु हुँदैन भन्ने मलाई लाग्छ ।

यो संविधानमा अधिकार कम भयो भनेर आन्दोलन गरिरहेकाहरुलाई के भन्न चाहनुहुन्छ ?
संविधानै लागू नभइकन यो अतृप्तिको कुरा हुन्छ । असन्तुष्टि त छन् तर त्यो असन्तुष्टि र अतृप्ति त काम गर्दै जाँदाखेरि नै त्यसलाई समाधान गर्न सकिने कुरा हो । संविधानको कुन धारामा के चाहिँ कुरा पुगेन ? त्यो हामीले छलफल गर्नुपर्छ र त्यो कति सान्दर्भिक छ भन्ने कुरा पनि गर्नुपर्छ ।
लोकतन्त्रको मूल्य मान्यताभित्र, मानवताको मूल्य मान्यताभित्र संविधानलाई पनि जाँच्नुपर्छ हामीहरुले ।

प्रतिकृया