यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ : भारतीय राजदुत रे

शुक्रबार, मंसिर ११, २०७२ | ०९:१३:५४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपालमा भएको आन्दोलनकै कारण भारतबाट नेपाल आउने सवारी साधान अवरोध भएको दोहोराएका छन्।

बीबीसी नेपाली सेवासंग विशेष कुराकानी गर्दै नेपालकालागि भारतीय राजदूत रेले भारतले नेपालमा घोषित वा अघोषित कुनैपनि खाले नाकाबन्दी लगाएको भन्ने आरोपहरुलाई सोझै अस्वीकार गरेका छन्। उनले नेपालीहरुलाई भारतको हैन, आफ्रनै मुलुकको बारेमा चिन्ता गर्न सुझाव पनि दिए। राजदूत रेसंग रबीन्द्र मिश्रले विहिबार राती गरेको कुराकानीको संपादित अंश विविसी नेपाली सेवाबाट यहाँ साभार गरिएको छ।

भारतले नाकाबन्दी लगाइरहेको छ भनेर किन स्वीकार गर्दैन?
खासमा न त यो यथार्थ हो न त नाकाबन्दी नै। आपूर्तिमा निश्चयनै अवरोध उत्पन्न भएका छन्। तर ती अवरोध तराईमा भइरहेका विरोध प्रदर्शनहरुका कारण उत्पन्न भएका हुन्। पहिलो कुरो यो हो। दोस्रो कुरो चाहिं के हो भने बेलाबेला त्यहाँ हिंसात्मक झडपहरु भएका छन्। जसले स्वाभाविक रुपमा सुरक्षा अवस्थालाई असर पारेको छ अनि ट्रक सञ्चालकहरु नेपालभित्र गाडी चलाउन अनिच्छुक भएका छन्। त्यस्ता केही घटना भएका छन्।

तर नेपाल सरकार भन्छ यो नाकाबन्दी नै हो। नेपालका अधिकांश जनता भन्छन् यो नाकाबन्दी नै हो। हामीलाई अनुभव भइरहेको छ यो नाकाबन्दी नै हो। तर पनि तपाईं यो लगातार अस्वीकार गर्नुहुन्छ। किन?
तपाईं काठमाण्डौंमा अहिलेको गाडीको चाप हेर्नुहोस्। मलाई थाहा छैन यसलाई हेरेर तपाईंले इमान्दारीपूर्वक यो नाकाबन्दी नै हो भन्नुहोला वा नहोला।
तर त्यो त कालोबजारीका कारण भएको तपाईंलाई पनि शायद जानकारी होला?
यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ। यदी तपाईं सही निदान गर्नुहुन्न भने र अन्यत्र त्यसलाई पन्छाउनुहुन्छ भने तपाईं गम्भीर समस्यामा पर्नुहुन्छ
शायद त्यो पनि आंशिक कारण होला। तर शतप्रतिशत आपूर्ति कालोबजारीका कारण मात्रै भइरहेको छ भन्न सकिंदैन।
तर तपाईंले भारतीय भागबाट नेपालतर्फको गाडीको प्रवाह किन रोकिरहनुभएको छ। केही गाडी आइरहेका छन् अनि केही छैनन् भनेपछि त्यो कसरी सुरक्षासंग जोडिएको विषय रहन्छ र? केही चालक सुरक्षित हुन्छन् र आउन सक्छन् अनि केहीचाहिं असुरक्षित हुन्छन् र आउन सक्दैनन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?
यो नबिर्सनुस् कि यो समस्या आएको तीन महिना भइसक्यो। अनि अवस्था समय समयमा परिवर्तन भइरहेको छ। प्रमुख समस्या वीरगञ्जको रक्सौल नाकामा छ। अन्य नाकाहरुबाट सम्भव भएसम्म आपूर्तिलाई सहज पारिने प्रयास भइरहेका छन्। जहाँ कुनै गडबडी छैन अनि जुन नाकामा कुनै अवरोध छैन, त्यहाँबाट गाडीहरु आएकै छन्।

झापा, भैरहवा, बाँके, कैलाली, कञ्चनपुर। त्यहाँ विरोध प्रदर्शन वा अवरोध छैनन्। तर त्यहाँबाट पनि आएका छैन्?
यो सही होइन। ती पाँच सय गाडी कहाँबाट आइरहेका छन् त? ती तपाईंले भनेकै नाकाहरुबाट आइरहेका छन्।

हो। तर त्यहाँबाट पनि विगतको तुलनामा २० देखि ३० वा अझ १० प्रतिशतमात्रै गाडी आएका छन्?
हो किनकि आपूर्तिको ६० देखि ७० प्रतिशत त रक्सौल वीरगञ्ज नाकाबाट हुन्छ नि त। त्यसैले के गर्नुपर्छ भने जुन हामीले विशेषगरी औषधि आयातकर्ताहरुलाई पनि भनेका छौं तपाईंहरुले आइन्दा आफ्ना सामान रक्सौलबाट नझिकाउनुस्। अन्य खुला रहेका सीमाचौकी बाट आफ्ना सामान लेराउनुस्।

तर त्यहाँबाट ट्रकको बाटो परिवर्तन गरी जोगबनी नाकाबाट ल्याउन खोज्दा समेत अनुमति दिइएन नि? तिनले औषधि बोकेका थिए ।
त्यो असत्य हो। खासमा मधेशी मोर्चाले पनि हालै घोषणा गरेको छ कि औषधिको आयातलाई एउटा सीमा नाकाबाट ल्याइन दिइनेछ भनेर। अनि जहाँसम्म औषधिका कुरा छन् हाम्रा तर्फबाट पनि केही सहयोग भएका छन्।
रक्सौल बाहेकका अन्य नाका सञ्चालनमा रहेको अनि औषधिका गाडी अन्य नाकाबाट पठाइएको भनेर तपाईंले भन्दै गर्दा नेपाली दृष्टिकोणबाट यो एकदमै अनौठो लाग्छ। किनकि पत्रकारहरु त्यहाँ पुगेका छन्, उनीहरुले स्थानीय भारतीय अधिकारीहरुसंग कुराकानी गरेका छन्। उनीहरुका अनुसार भारतीय अधिकारीहरुले माथिको आदेश भन्ने गरेका छन्। ट्रक जान नदिन माथिको आदेश। बेला बेला केही ट्रक छाडिएका छन्।

अब प्रश्न के उठ्छ भने यदि केही ट्रकका ड्राइभरलाई काठमाण्डौं आउन असुरक्षा छैन भने, अन्य ट्रक किन आउन सक्दैनन्?
भारत र नेपाल बीच खुला सीमाना छ। जब नेपालका कुनै भागमा समस्या हुन्छ भने त्यसले प्रष्ट रुपमा भारतमा असर हुन्छ ।
म तपाईंलाई हाम्रो आधिकारिक धारणा बताउँदै छु। मलाई थाहा छैन तपाईं कुन पत्रकारको कुरा गर्दै हुनुहुन्छ वा त्यसमा कत्तिको सत्यता छ। यथार्थ के हो भने जुन नाकामा कुनै अवरोध छैन वा जहाँको दशगजामा कुनै प्रदर्शन छैन त्यहाँबाट सामान आइरहेका छन्। जहाँ सुरक्षा अवस्था बिग्रन्छ त्यहाँबाट आउन कठिनाई हुन्छ। मलाई के लाग्छ भने आपूर्तिको अवस्था सुध्रँदैछ। शायद नेपालले चाहेको गतिमा त्यो सुध्रिन सकेको छैन होला। मलाई लाग्छ तपाईं यी सब अवस्थाका पछाडिको कारणमा केन्द्रित हुनु पर्छ। किन यो समस्या छ? किन सीमानाकामा अवरोध छ? हामीलाई लाग्छ आधारभूत रुपमा यी समस्या राजनीतिक प्रकृतिका छन्।
हामी त्यो राजनीतिक विषयमा पनि आउँला। तर हेर्नोस् न आलुको आपूर्ति सामान्य छ, गोलभेंडाको आपूर्ति सामान्य छ, ग्रेनाइट र टायलका आपूर्ति सामान्य छन्। तर इन्धनको आपूर्ति सामान्य छैन। नेपाली पक्षले बेहोरेको मूल समस्या त यो हो नि?
हेर्नुस्। यो यति सरल विषय होइन। पाँच हजारभन्दा धेरै ट्रकहरु लाइनमा छन्। सामान्यतस् के गरिन्छ भने तिनलाई पालैपालो पठाइन्छ। पालोमा आलुको ट्रक वा इन्धनको ट्रक जे पनि हुन सक्छ। हामीले जानाजान कुनैलाई रोक्न खोजेको होइन।

एउटा राजदूत वा कूटनीतिज्ञको रुपमा तपाईंले त्यसको बचाउ गर्नुहोला। तर तपाईंकै देश भारतकै कतिपय पत्रकारहरुले वर्तमान भारतीय व्यवहारको आलोचना गरेका छन्?
त्यो त अर्कै विषय भयो। तपाईंकै नेपालका पनि कतिपय पत्रकारले नेपाली सरकारको अडानको आलोचना गरेका छन्। हामी दुबै प्रजातन्त्र हौं।
तर यथार्थ त यो हो नि– नेपाल पीडित भएको छ, मानिसहरुले इन्धन पाएका छैनन्, भूकम्प पीडितहरु जाडोमा लुगलुग कामिरहेका छन्, औषधिका अभावमा मान्छे मर्न थालिसके?
यो भावनात्मक कुरा भयो। निश्चय नै यो सत्य हो कि नेपाल पीडामा छ। सबैले थाहा पाएका छन् नेपाल पीडामा छ, र यो पीडाबाट मुक्ति दिलाउन केही त गर्नैपर्छ।

अनि तपाईं भन्नुहुन्छ कि यो पीडाको कारण केवल तराईको आन्दोलन हो, भारत होइन?
निश्चय नै। तपाईंले एकदम सही भन्नुभयो।

त्यसो भए विश्लेषकहरुले नेपाल भारत सम्बन्ध हालसम्मकै सबभन्दा चीसो तहमा पुगेको भनेर किन भनिरहेका छन्?
यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ। यदि तपाईं सही निदान गर्नुहुन्न भने र अन्यत्र त्यसलाई पन्छाउनुहुन्छ भने तपाईं गम्भीर समस्यामा पर्नुहुन्छ।

भारतको संविधान जारी हुँदा ६५ प्रतिशतले त्यसको पक्षमा मतदान गरेका थिए। नेपालको संविधान जारी हुँदा ८५ प्रतिशत जनप्रतिनिधिले पक्षमा मतदान गरेका छन्। त्यसो हुँदा समेत भारतले यो संविधानलाई केवल जानकारीमा लिएको भनेर टिप्पणी गर्‍यो। त्यसैले पनि धेरै नेपालीले भारतलाई दोष दिइरहेका छन्?
हाम्रो भनाइ के हो भने यो संख्याको खेल होइन। हामीले निरन्तर भनिरहेको कुरा के हो भने यो विविधतायुक्त समाज हो, र यहाँ समाजका विविध पक्षका आफ्ना आकांक्षा छन्। हामीले भन्दै आएका छौं कि सम्भव भएसम्म ती आकांक्षालाई सम्बोधन गर्नुपर्छ। अनि आज मलाई लाग्छ तपाईंले देश निकै गम्भीर अवस्थामा पुगेको पाउनुहुनेछ।

विगतमा धेरै पटक भारतले नेपालको समस्या समाधानमा नेपाली नेताहरुलाई सुझाव दिने गरेको र सहजकर्ता बनेर समाधान दिएको घटना छन्। यो कसैले झूटो भन्न सक्दैन। तर अहिलेको समस्याको हकमा यदि तपाईंले तराईका आन्दोलनकारी पक्षलाई संविधानको परिधिभित्र रही समस्याको निरुपण खोज्न सुझाव दिएको भए परिस्थिति बेग्लै हुने थियो भन्ने के तपाईंलाई लाग्दैन?
यी सब नेपालका आन्तरिक मामिला हुन्। हो, विगतमा भारतले सहजकर्ताको भूमिका बहन गर्ने प्रयास गरेको थियो, त्यो पनि नेपालकै अनुरोधमा। तर म तपाईंलाई यो विषयमा भारतको धारणा बताउन चाहन्छु। तपाईंले अघि भन्नुभयो भारतले नयाँ संविधानलाई केवल जानकारीमा लियो। हाम्रो एकमात्र उद्देश्य भनेको नेपालमा शान्ति र स्थिरता होस्। दोस्रो कुरा, हाम्रो मूल्याँकन के रहेको छ भने यो विविधतापूर्ण देशमा समाजका सबै पक्षलाई साथमा लिएर अघि बढेमा मात्र शान्ति र स्थिरता हुन्छ। यदि कुनै पक्षले आफुलाई कुनै प्रक्रिया, जस्तो कि संविधान निर्माणको प्रक्रियाबाट, अलग्याइएको अनुभूति गर्छ भने कठिनाइ उत्पन्न हुन्छ। यो पनि नबिर्सनुस् कि भारत र नेपाल बीच खुला सीमाना छ। जब नेपालका कुनै भागमा समस्या हुन्छ भने त्यसले प्रष्ट रुपमा भारतमा असर हुन्छ।

यदि त्यसो हो भने किन भारतले संसदमा ८५ प्रतिशत प्रतिनिधित्व भएका मुख्य दलहरुमाथि सम्वादबाट र संविधानकै व्यवस्थाबाट समस्याको समाधान गर्न निरन्तर दबाब दिइरहेको छ, जबकि त्यस किसिमका दबाब आन्दोलनरत पक्षलाई दिएको देखिंदैन?
हामीले कसैमाथि दबाब दिएका छैनौं। हामीलाई लाग्छ समाधान देशभित्रबाटै हुनुपर्छ। दोस्रो कुरा समस्या सम्बोधन गर्न संविधान संशोधनको बाटोबाट जानुपर्ने प्रष्ट छ। त्यसैले ८५ प्रतिशत प्रतिनिधित्व रहँदा रहँदै पनि तराईमा ठूलो आन्दोलन त चलिरहेको छ। त्यसलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

अनि, तपाईं एउटा पक्षको समर्थन गरेर बाँकी नेपाललाई चिढाउने भारतीय व्यवहारको चाहिं कसरी व्याख्या गर्नुहुन्छ?
यो असत्य हो। म यसलाई पुरै खारेज गर्छु। भारतको नीति संधै नेपालका निम्ति हुन्छ। यो होइन कि हामी एक समुदायको पक्षमा र अर्को समुदायको विपक्षमा छौं। यो हुँदै होइन। हामी नेपालमा शान्ति र स्थिरता पुनर्स्थापना गर्ने प्रक्रियाको समर्थन र सहजीकरण गर्न प्रयत्नरत छौं।

विगतमा भारतले नेपालमा प्रक्रियाहरुको सहजीकरण गर्दाखेरि ऊ सफल भएकै थियो। त्यसका धेरै उदाहरण छन्। यसपटक भारत पुरै विफल रह्यो। प्रक्रिया सहजीकरण गर्न खोज्दा पनि भारत सफल भएको छैन। भारतीय नीति विफल भएको छ?
यो कतै भारत विफल भएको हो वा होइन भन्ने विषय होइन। तपाईं त नेपालमा के भइरहेको छ भन्नेप्रति चिन्तित हुनुपर्ने हो। भारत ठूलो देश छ र उसले आफ्नो हेरचाह गर्न सक्छ। मलाई लाग्छ तपाईंको निम्ति महत्वपूर्ण त नेपालमा के हुन लाग्यो भन्ने हुनुपर्छ। भारतलाई बिर्सि्दिनुस्।

मैले यो प्रश्न किन गरेको भने तपाईंले अघि भारतले नेपालमा प्रक्रियाहरुको सहजीकरण गरेको थियो भन्नुभयो। विगतमा त्यो सफल भएको थियो। यसपटक विफल भयो। यस विफलताको लागि भारतीय राजदूतका हैसियतले तपाईंको जिम्मेवारी छ कि छैन?
यो त आ आफ्ना निर्णयमा भर पर्ने विषय हुन्। को सफल वा को विफल भन्ने विषयको फैसला गर्न म तपाईंलाई नै छाड्छु, र यी प्रक्रियाले समय लिन्छन्। दोस्रो कुरा के हो भने यी सबै सहजीकरण नेपालकै अनुरोधमा भएका हुन्।

अब हालै सुनसरीमा भएको गोलीप्रहारको घटनाबारे सोधौं। घाइतेहरु आफैले भनेका छन् कि भारतको सशस्त्र सीमा बल एसएसबीकै मान्छेले उनीहरुलाई गोली हानेका हुन्। नेपाली अधिकारीले भनेका छन् घटना नेपाली भूभागमा भएको हो। तर तपाईंको दूतावासले घटना नेपालमा नभएको र कोही नेपाली घाइते नभएको भन्दै विज्ञप्ति निकाल्यो। के त्यो ठाडै झुठ होइन र?
होइन, त्यो सत्य हो। हामीलाई प्राप्त सूचना अनुसार घटना हाम्रै भूभागमा भएको हो। त्यसपश्चात हामीलाई नेपाल सरकारको तर्फबाट टिपोट प्राप्त भएको छ। हामी निश्चय पनि यस घटनाबारे पूर्ण अनुसन्धान गर्नेछौं।
भारतको लागि महत्वपूर्ण एउटै कुरा भनेको आफ्नो छिमेकमा, खासगरी नेपालमा, शान्ति र स्थिरता होस् भन्ने नै हो

भन्नाले तपाईंको दृष्टिबाट जुन नेपाली घाइतेका तस्वीरहरु पत्रिकामा, टेलिभिजनमा, अनलाइनमा आएका छन्, ती झुट्टा हुन्?
हैन, त्यो तपाईं कसरी भन्न सक्नुहुन्छ? हामीले नेपाल सरकार तर्फबाट पनि लिखत पाएका छौं। अब हामी त्यसको अनुसन्धान गर्नेछौं। किन तपाईं शुरुमै यसो भन्नुहुन्छ?
तपाईंले शुरुमा भारततर्फबाट आएका सूचनामा आधारित भएर यो भन्नुभयो। तर तपाईंको विज्ञप्ति आउनुभन्दा पहिले नै घाइतेका फोटो सञ्चार माध्यममा आए नि?
हो, त्यसैले हामीले यस घटनामा पूर्ण अनुसन्धान गर्नेछौं। मलाई उक्त सीमा क्षेत्रमा ठ्याक्कै के अवस्था छ भन्ने थाहा छैन।

धेरै नेपाली विश्लेषकहरु भन्छन्न्, भारत नेपालसंग के चाहन्छ भन्ने बुझ्नै सकिएन ?
हामी नेपालमा शान्ति र स्थिरता चाहन्छौं। त्यो भन्दा अर्थोक केही चाहँदैनौं।

अनि तपाईंलाई लाग्छ नेपालका अधिकांश जनताले तपाईंको यो कुरा पत्याउलान् ?
त्यसो भए तपाईं भन्नोस् भारत के चाहन्छ?

धेरै मानिसले यो प्रश्न उठाएका छन्?
भारतको लागि महत्वपूर्ण एउटै कुरा भनेको आफ्नो छिमेकमा, खासगरी नेपालमा, शान्ति र स्थिरता होस् भन्ने नै हो। किनकि भारत द्रुत गतिमा विकास गर्न चाहन्छ। अनि, हामीलाई लाग्छ कि छिमेकमा गडबडी भएका खण्डमा भारतको वृद्धिमा अवरोध हुन सक्छ। म आशावादी र ढुक्क के मा छु भने, दुई छिमेकका रुपमा हामी संगै बाँच्नुपर्छ र संगै काम गर्नुपर्छ। त्यो एकमात्र विकल्प हो जसमार्फत हामीले हाम्रा जनताको फाइदाका निम्ति प्रगति र विकास गर्न सक्छौं।
मैले अघि पनि भनेको थिएं दुई देश बीचको सम्बन्ध हालसम्मकै चीसो अवस्थामा पुगेको छ, जुन कुरा दुवै तर्फ भनिएको पनि छ। यो सन्दर्भमा, तपाईंको विचारमा दुवै देश भारत र नेपालका निम्ति, वर्तमान स्थितिबाट छविमा आँच नआउने गरी कस्तो समाधान हुन सक्छ?
मलाई लाग्दैन भारतलाई कुनै त्यस्तो छविमा आँच नआउने खालको समाधान चाहिएको छ। यदि नेपाललाई चाहिएको हो भने त्यो उसैले निर्धारण गर्ला।

कतिपय भारतीय विश्लेषकले यो भारतको महागल्ती भएको र विदेश नीतिको पूर्ण विफलता भएको भनेका छन?
हामी एउटा प्रजातान्त्रिक मुलुक हौं। हामीकहाँ थुप्रै विचार र दृष्टिकोण रहीआएका छन्।
अनि, प्रजातन्त्रमा त जनताको दृष्टिकोणबाटै प्रजातन्त्र चल्ने होइन र?
पक्कै हो। त्यसैले थुप्रै मानिसहरुमाझ फरक फरक बुझाइ हुन सक्छ।
भनेपछि तपाईंको विचारमा भारतको तर्फबाट कुनै कमजोरी भएको छैन?
मैले त्यसो भनेको छैन। जुनसुकै सम्बन्धमा पनि दुई पक्षकै जिम्मेदारी हुन्छ। मलाई लाग्छ महत्वपूर्ण के छ, भने वर्तमान समस्याबाट पार पाएपछि हामीले नेपाल भारत सम्बन्धमाथि एकचोटी फेरि ध्यान पुर्याउनुपर्छ। नेपाल भारतसंग कस्तो सम्बन्ध चाहन्छ भन्ने बारे। किनकि हामीलाई हाल देखिएका भारत विरोधी भावनाले निकै चिन्तित बनाएको छ।

प्रधानमन्त्री मोदीको भ्रमणपश्चात उब्जिएको सदभाव यस घटनाले गर्दा पूर्ण रुपले नष्ट भएको भन्ने तपाईंलाई लाग्छ?
हेर्नुस तपाईं एकदमै धेरै भावनात्मक किसिमका शब्दहरु जस्तो कि ’पूर्ण’ र ’नष्ट’ भन्ने प्रयोग गर्दै हुनुहुन्छ।

हो, किनभने मैले नेपाली दृष्टिकोण तपाईंलाई बताइरहेको छु?
हामीलाई लाग्छ, कुनैपनि कुराले हाम्रा सम्बन्ध पूर्ण नष्ट गर्न सक्दैनन्। जनस्तरमा यो निकै बलियो छ। हो, सरकारका माझ केही कठिनाइ होलान्। तर एउटा कुरा म तपाईंलाई प्रष्ट भन्न चाहन्छु कि भारत विरोधी भावनालाई नेपालमा व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि राजनीतिक रुपमा प्रयोग गरिन्छ। मलाई लाग्दैन यस्तो नीति दिगो हुन सक्छ। मलाई लाग्छ यसको समीक्षा हुनुपर्छ।

प्रतिकृया