लाल किल्ला मैले तोडे, त्यसैले मेरो दोस्रो कार्यकालका लागि उम्मेदबारी

शनिबार, माघ २३, २०७२ | ०३:४३:३६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

madan amatya

नेपाली कांग्रेस ललितपुरका सभापति तथा सभासद् मदनबहादुर अमात्यले दोस्रो कार्यकालका लागि ललितपुर कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनी पार्टी सभापति भएका बेला भएको संविधानसभा निर्वाचनमा ललितपुरका तिनैवटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेका थिए । कांग्रेसको १३ औं महाधिवेशनका सन्दर्भमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानी ।

गाउँ/नगर र क्षेत्रको अधिवेशन सम्पन्न भएको छ यसले कस्तो संकेत गरेको छ ?
गाउँ/नगरको निर्वाचन राम्रोसँग सम्पन्न भएको छ । ४० प्रतिशत नयाँ प्रतिनिधि आएका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । पहाडी भेगमा पनि ३० प्रतिशत नयाँ अनुहार प्रतिनिधिका रुपमा आएका छन् । निर्वाचनको यो परिणामले हेर्दा पार्टी विस्तार भएको छ । नयाँ पुस्ता आयोस, पार्टी सशक्त ढंगबाट आयोस भन्ने मेरो आकांक्षा थियो तर यो पूर्णरूपले भएन जस्तो लागेको छ ।

दोस्रो कार्याकालका लागि तपाईको उम्मेदवारी किन ?
१२ औं महाधिवेशनमा सहभागी हुँदा पार्टीलाई नयाँ ढंगले अघि बढाउने सोच लिएर नेतृत्वको दौडमा थिए । मेरो यो चाहना पूरा पनि भयो । पार्टीमा काम गरिरहेका पूराना साथीहरू म आउँदा आत्तिएका पनि छन् । उनीहरूले सभापतिको पदभार ग्रहण गरे लगत्तैदेखि विरोध पनि गर्न थाले । उनीहरूले पार्टी अफिस ढलान÷पुस्तकालय बनाउने योजना ल्याउँदा नकारात्मक प्रतिक्रिया व्यक्त गर्न थाले । भवनको हिसाव किताव माग्न थाले । यो विवादमा धेरै रूमलिँदा मुखमा आएको निर्वाचनमा असर पर्ने हो कि भन्ने डरले पार्टीका औपचारिक कार्यक्रम बाहेकमा कट्टौती गर्न थाले । संगठन विस्तारमा लागें । कार्यकर्तासँगको अन्तरक्रियालाई विस्तार गर्दै सभापतिको जिम्मेवारी निर्वाह गर्न थाले । फलरुवरुप २०१५ साल यता चुनाव जित्न नकेकेको ललितपुरमा पहिलो पटक आमनिर्वाचनमा तीनवट्टै क्षेत्रमा निर्वाचन जित्न सफल भयौं । नजानिदो ढंगले ललितपुर लाल किल्लाको रुपमा विकास भइरहेको थियो त्यो तोड्न हामीले धेरै मेहनेत गर्नुप¥यो । यसअघिको नेतृत्वले अवलम्वन गर्दै आएको संगठन गर्ने तरिकामा आमूल परिवर्तन गरें । १२ औं महाधिवेशन सकिएलगत्तै ललितपुरका गाउँ गाउँ घुमे । यसअघि कोठे कुराकानीका भरमा चुनाव जितिने आंकलन हुन्थ्यो । मेरो नेतृत्वपछि हामीले धेरै मेहनत गरेपछि मात्रै ललितपुर जिल्लाको राजनीतिमा कांग्रेसले सफलता हात पारेको हो । अझै पनि धेरै काम गर्न बाँकी छ । कांग्रेस बन्यो तर संगठन बनेन । पार्टी संगठनलाई मजबुद बनाउन मलाई एक कार्यकाल आवश्यक परेको हो । त्यसैले १३ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवार दिन लागेको हुँ । प्रजातान्त्रिक पार्टीमा उम्मेदवार जो कोही पनि बन्न सक्छन तर मेरो विपक्षमा उम्मेदवार दिने सोच्नु भएका साथीहरूले राजनीतिक रूपमा मलाई कमजोर देखाउने ठाउँ छैन । संविधानसभा निर्वाचनमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवारहरूले निर्वाचन जिताउन सफल भएको भन्दै धेरै कार्यकर्ताले सभापतिमा चुनाव लड्न आग्रह गरिरहेका छन् । कार्यकर्ताको धेरै माया पाएको छु । संगठन चुस्त बनाउन सुरु गरेको यो अभियानलाई मूर्तरूप दिन पनि पार्टी सभापतिमा मेरो उम्मेदवारी आवश्यक छ ।

सभापतिमा निर्वाचित भए तपाईका योजना कस्ता छन् ?
७५ जिल्लामध्ये ललितपुर कांग्रेसको अलग्यै पहिचान बनाउने मेरो योजना छ । कांग्रेसमा सैद्धान्तिक, संस्कारको विचलन आएको छ । सुसंस्कृत तथा चरित्रवान कांग्रेस बनाउन चाहन्छु । त्यसका लागि कार्यकर्तालाई नियमित रुपमा प्रशिक्षणको आवश्यकता पर्दछ । कार्यकर्तामा पढ्ने संस्कृतिको विकास गर्न पार्टी कार्यालयमा सुविधा सम्पन्न पुस्तकालय बनाउने योजना छ । त्यहाँ विश्वका राजनीतिक व्यक्तित्वका पुस्तक तथा जननायक वीपी कोइरालाका सबै पुस्तकहरु समावेश गर्ने योजना बनाएको छु । सबै कार्यकर्ताले प्रजातान्त्रिक संस्कार बुझुन भन्ने मेरो चाहना हो । गाउँ गाउँमा पुगेर कांग्रेसको संगठनलाई मजबुद बनाउन पनि आफूले सुरु गरेको गतिविधिलाई आगामी कार्यकालले पूरा गर्ने मेरो विश्वास छ । संगठनलाई बलियो बनाउन ललितपुरका दुगर्म गाउँ माल्टा, भट्टेडाँडा, भारदेउ, कालेश्वर आफैंले जग्गा किनेर हस्तान्तर गरेको छु । आश्रङ र गिम्दीमा पनि जग्गा किन्ने तयारी गरेको छु । ती स्थानमा एकै डिजाइनका घर बनाउने योजना मेरो छ । कांग्रेसको गाउँ पार्टी कार्यालय बनेपछि हामीलाई संगठन गर्न अझ सजिलो हुनेछ । कार्यकर्तालाई सोही कार्यालयमा डाकेर संगठनका काम गर्न सजिलो हुने मेरो विश्वास छ । अझै पनि कांग्रेसको संगठन बलियो भइसकेको छैन । स्थानीय निकायको निर्वाचन जित्ने वातावरण बनाउनु जरूरी छ ।

कांग्रेस अब कसरी अगाडि बढ्नु पर्छ ?
अहिले कांग्रेसमा सैद्धान्तिक विचलन आएको छ त्यसको अन्त्यका लागि कार्यकर्तालाई प्रशिक्षण दिनुपर्छ । अन्तरक्रिया गर्ने, पार्टीलाई प्रजातान्त्रिक ढंगबाट अगाडि बढाउने तथा पार्टी विधानको पूर्ण कार्यान्वयनमा ल्याउने मेरो आगामी कार्यकालका लक्ष्य हुन् । केन्द्रैदेखि सैद्धान्तिक विचलन आएकोले केन्द्रमा पनि नेतृत्व परिवर्तन हुनेमा आशावादी छु । प्रजातन्त्रलाई बलियो बनाउन क्रियाशील हुनेछु । राजनीतिलाई व्यवसाय बनाउने कार्यको विरोधमा म छु । जीवन जीउनका लागि काम/व्यवसाय गर्नुपर्छ भन्ने सिकाउन जरूरी छ । निर्वाचन जित्न पैसाको खोलो बगाउने प्रवृतिको अन्त्य हुनु पर्दछ । यो विकृति हो । पैसाका भरमा पावर जसरी पनि हात पार्न खोज्नु संगठनकै लागि अहितकर हो ।

तपाईका प्रतिस्पधीका बारेमा के भन्नुहुन्छ ?
मेरो प्रतिस्पर्धी देखेको छैन । मैले गरेको कामलाई चुनौती दिन सक्ने आँटसहित उम्देवार आउनु पर्छ, त्यही अनुसारका पार्टीका कार्यकर्ता तयार पार्नुपर्छ । पार्टी हाँक्न जसले पनि सक्दैन । हाँक्न सकेको भए लामो समय सम्म ललितपुरमा आमनिर्वाचनमा कांग्रेस किन पराजित हुनपुग्यो । जनताको बीचमा नगइकन नेता बन्न सकिदैन । कार्यकर्ताले पनि यस्तालाई स्वीकार गर्न सक्दैनन् । अहिलेसम्म रहेको ४०/६० को विभाजन रेखा मेट्नु पर्छभन्ने रणनीतिमा काम गरिरहेको छु । यो विभाजनको रेखा १३ औं महाधिवेशन पछि सकिनु पर्छ । यो सोच भएका डाइनामिक लिडरसिप महाधिवेशनले चयन गर्नुपर्छ । त्यो एकै चोटी आउने परिवर्तन होइन प्रक्रियामा जानुपर्छ । यो सन्दर्भमा किसुनजीको भनाई मलाई अहिले पनि सान्दर्भिक लागेको छ । उहाँ भन्नु हुन्थ्यो, ‘ कांग्रसे कालन्तरमा पूर्ण प्रजातान्त्रिक पार्टी बन्नेछ । पार्टी भित्र योग्य नेता मात्रै रहन्छन् । अयोग्यलाई कार्यकर्ताले भगाउछन् ।’ किसुनजीलाई पाँच वर्षमात्रै देश चलाउन दिएको भए देश यो हालतमा आउँदैनथ्यो भन्ने मेरो बुझाई छ । दुर्भाग्य हामीले त्यो देख्न पाएनौ ।
प्रस्तुति : विश्वराज खनाल

प्रतिकृया