आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने

मङ्लबार, मंसिर १४, २०७३ | ०३:०५:०९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ, मंसिर १४: पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ ।

DSC0188-848x478मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णय भएको छ । प्रधानमन्त्रीले संविधान संशोधनबारे दलहरुबीच भएको छलफल र प्रगतिबारे बैठकलाई जानकारी गराएका थिए । बैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष दाहालले सकेसम्म आजै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए । प्रधानमन्त्रीले भने,‘संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ ।’
बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताएका थिए । बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने,‘आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराउनुभयो । सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ । बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ ।’
मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी गराएका थिए ।
बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताएका थिए । बैठकमा अध्यक्ष दाहालले पेस गरेको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् । बैठक बुधबार पुनः बस्नेछ ।

प्रतिकृया