संविधान संशोधन प्रस्तावमा उपेन्द्र यादवको विरोध

बुधबार, मंसिर १५, २०७३ | १२:२२:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, मंसिर १५ : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ ।

सरकारले मंगलबार अबेर संसदमा सीमांकन हेरफेरसहित संविधान संशोधन दर्ता गराएको थियो । फोरम अध्यक्ष यादवले आफूहरुको माग बमोजिम संशोधन दर्ता नगरेर सरकारले गल्ती गरेको बताएका छन् । संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठवन्धनले उठाएका कुनै पनि मागको पूर्ण सम्बोधन नगरेको यादवको आरोप छ ।
आन्दोलनको मुख्य माग १० प्रदेश र सीमांकनलाई विवादित नै राखिएको यादवले बताएका छन् । ‘मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन गरिएको छैन’ यादवले विज्ञप्ति माफर्त भनेका छन् ।
राष्ट्रिय सभाबारे गरिएको संशोधन समेत अपूर्ण भएको फोरमले बताएको छ । यसले राष्ट्रिय सभामा मधेसीहरु कहिल्यै पनि बुहमतमा पुग्न नसक्ने उसको दाबी छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले वैवाहिक अंगीकृतलाई वैवाहिक बंशज बनाउनु पर्ने माग गरेको छ । संशोधन प्रस्तावमा वैवाहिक अंगीकृत कै व्यवस्था गरिएको छ । जसअनुसार विवाह गरी नेपाल आएकी महिलाहरु देशको उच्च पदमा जान सक्ने छैन, विज्ञप्तिमा भनिएको छ ।

सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नगर्ने र संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने फोरमको दाबी छ ।

उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, यो विधेयक आन्दोलनरत पक्षहरूको असहमति हुँदाहुँदै जÞबरदस्ती ल्याईएकोले यथास्थितिमा यसलाई समर्थन गर्न सकिँदैन । हाम्रो आन्दोलन जारी रहनेछ ।’

प्रतिकृया