राजेन्द्र महतोले भने,‘हामीलाई सरकारले ठग्यो,सडकदेखि सदनसम्म आन्दोलन गर्छौ’

शुक्रबार, मंसिर १७, २०७३ | ०३:१८:४६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

विराटनगर, मंसिर १७: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफूहरु ठगिएको बताएका छन् ।

सो पार्टीद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याए ।
महतोले मधेसी, थारु, आदिवासी र जनजातिलाई शासनमा हिस्सेदारीका लागि सङ्घीयता चाहिएको प्रशङ्ग उल्लेख गर्दै सङ्घीयता विरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौदेखि शोषित पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाए ।
संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्दै उनले यथास्थितिमा प्रस्ताव पास गर्न खोज्यो भने सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।
पत्रकारद्वारा राखिएको जिज्ञसामा अध्यक्ष महतोले ५ नं प्रदेशबाट मधेसको भू–भागलाई छुटयाउन हुने तर झापा, मोरङ्, सुनसरीलाई छुटाउन नहुने, यो कस्तो दोहोरो मानसिकता हो भनि प्रश्न गरे ।
उनले राष्ट्रिय सभामा एक प्रदेशबाट तीनवटा सदस्य निर्धारण गरेको र बाँकी सदस्य पदमा स्थानीय निर्वाचित पदाधिकारीको आधारमा गर्दा मधेसको प्रतिनिधित्व घट्ने भएकाले सो मान्य नहुने स्पष्ट पारे । अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्ने मधेसी जनता र मधेसी मोर्चाको माग नरहेको चर्चा गर्दै उनले नागरिक–नागरिकबीच विभेद् गर्नु हुदैन् भने ।
अध्यक्ष महतोले प्रमुख राजनीतिक दल गैरजिम्मेवार बनेको आरोप लगाउँदै सीमाङकनका र भाषिक समस्या विगतमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया