अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, फाल्गुन ६, २०७३ | ०४:१६:२४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

रोल्पा, फागुन ६: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए । विगतमा गरिएको त्याग तपश्या र बलिदानले युगान्तकारी परिवर्तन सम्भव भएको बताउँदै समानुपातिक समावेशी, सङ्घीयता, धर्म निरपेक्षता र गणतन्त्र बलिदानीको सम्पत्ति भएको उल्लेख गरे ।

युद्धकालमा समेत कठिन र अप्ठेरा दिनमा रोल्पा आएर ऊर्जा थप्ने गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भने,‘अहिले पनि संविधान कार्यान्वयनमा रोल्पालीको साथ सहयोग माग्न रोल्पा आएको छु’ ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनाउने श्रेय रोल्पालाई भएको बताउँदै प्रधानमन्त्री दाहालले रोल्पाको विकास र परिवर्तनमा आफू सधैँ लागिरहने बताए । राजनीतिक लडाइँमा विजय हासिल गर्दै गणतन्त्रसम्म पुगेको र शान्ति कालमा समेत महत्वपूर्ण योगदान गरेकै कारण रोल्पाले अहिले राज्यका महत्वपूर्ण स्थानमा प्रतिनिधित्व रहेको उनको भनाइ थियो ।

अब क्रान्ति र आन्दोलनबाट भन्दा विकास निर्माणबाट समाजवादको आधार तयार गर्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बताए । एकथरी शक्ति सिंहदरबारको अधिकार गाउँसम्म पुग्न दिने पक्षमा नभएको र अर्कोथरी शक्ति पछाडितर्फ फर्कन खोजेको प्रधानमन्त्री दाहालको आरोप थियो ।

प्रतिकृया