राजनीतिक नेतृत्वसँग एक–अर्कालाई गाली गरेर बस्ने समय छैन,आफूलाई सच्चाउनैपर्छ

शुक्रबार, फाल्गुन ६, २०७३ | ०५:४०:०२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

बागलुङ, फागुन ६: व्यवस्थापिका ससंद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ बागलुङ शाखाले आयोजना गरेको सडक खाना महोत्सवको शुक्रबार उद्घाटन गर्दै सभापति अधिकारीले अधिकारको राजनीति गर्ने समय सकिएको उल्लेख गरे । उनले राजनीतिप्रति बढेको निराशा र कुण्ठालाई समाप्त पार्न मुलुकलाई समृद्धितिर लानुपर्ने बताए ।

‘सुखी नेपाली र समृद्ध नेपालको लागि अबको राजनीति केन्द्रित हुनुपर्छ’ सभापति अधिकारीले भने, नागरिकको जीवन जिउने र सोँच्ने तरिकामा परिवर्तन ल्याउनैपर्छ ।’ उनले अस्थिर राजनीतिले लोकतन्त्र र राज्यका संरचनालाई कमजोर पारिरहेको विचार राखे । ‘राजनीतिक नेतृत्वले अब आफूलाई सच्चाउनैपर्छ, एक–अर्कालाई गाली गरेर बस्ने समय छैन’ नेता अधिकारीले भने । उनले संविधान कार्यान्वयनको लागि निर्वाचन पहिलो सर्त रहेको भन्दै आगामी माघभित्रै तीनै तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । आवधिक निर्वाचनले मात्र लोकतन्त्र र प्राप्त उपलब्धिको संस्थागत विकास हुने उनको भनाइ छ । संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन अगुवाइ गरिरहेको उनले बताए । प्रदेश नं– ४ का सबै जिल्ला समेट्ने गरी चक्रपथ निर्माणको योजना अघि बढाउन आवश्यक अध्ययन सुरु गरिएको उनको भनाइ छ ।

प्रतिकृया