विश्लेषण: मधेसी दलबीचको एकताको के हो सन्देश?

शुक्रबार, बैशाख ८, २०७४ | ०९:०२:४५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

morcha aकाठमाडौं, बैशाख ८ : पहिलो संविधानसभा निर्वाचनबाट नेपाली राजनीतिमा क्षेत्रीय राजनीतिक दलको रुपमा उदाएका मधेसवादी दलहरु विगत एक दशकमा पटक पटकको फुटपछि विहिबार मोर्चामा आवद्ध ७ मध्य ६ दलबीच एकीकरण भएको छ ।
संविधान जारी भएपछि त्यसको विरुद्धमा आन्दोलन गर्दै आएका र स्थानीय चुनावको मिति २४ दिन मात्रै बाँकी रहदा सयुक्त लोकतान्त्रीक मधेसी मोर्चामा आवद्ध ६ दलले मध्यरातमा गरेको एकताले नयाँ राजनीतिक तरङ ल्याएको छ, नेपाली राजनीतिमा । मधेसी मोर्चाको पार्टी एकीकरणलाई लिएर दुई थरी विश्लेषण हुन थालेको छ । पहिलो अव चुनावको सुनिश्चिता हुने भयो र मधेसी मोर्चा पनि चुनावमा सहभागि हुने भयो र दोस्रो मोर्चालाई शक्तिमै राख्न कुनै बाहिय शक्तिले दवावमा मिलन गरायो ।
हाम्रो जस्तो विकासन्मुख र राजनीतिक संक्रमण थातीनै रहेको मुलुकमा दलहरुबीच फुट हुनु राष्ट्रकै लागि घातक हुन्छ । धेरै दल हुनु र दलहरुबीच टुक्रै टुक्रा हुनु भनेको राजनीतिक संक्रमणलाई झन बढाउनु हो । यो हिसावले ढिलै भएपनि मधेसी मोर्चामा आवद्ध दलहरुमा बुद्धि आएर एकता हुनुलाई सकरात्मक पाईलाको रुपमा लिन सकिन्छ । अर्को यसअघि क्षेत्रीय दलको रुपमा मधेशलाई केन्द्रमा राखेर राजनीतिक गर्दै आएका ति ६ दलले आफुलाई मधेसबाट माथि उठाउने प्रयाश गरेका छन्, पार्टीको नामबाट मधेस शब्द हटाएर । त्यो पनि हाम्रो राजनीतिक परिवेशमा सकरात्मक कुरा हो । राजनीतिक संक्रमण हटाउन पनि क्षेत्रीय दल कम हुनु र धेरै दलहरुले केन्द्रीय राजनीतिमै होमिनु सकरात्मक विषय मानिन्छ ।
कतिपयले मधेसी दलको मिलनलाई संसदले एक महिना अघि मात्रै पारित गरेको राजनीतिक दल सम्वन्धी कानुनसँग जोडेर पनि हेर्ने गरेका छ । उक्त कानुनले ३ प्रतिशत मत नल्याउने राजनीतिक दललाई राष्ट्रिय पार्टी नहुने व्यवस्था गरेको छ । तर मोर्चाको पछिल्लो गतिविधिलाई मिहिन रुपमा विश्लेषण गर्ने हो भने उनीहरुको एकताको केन्द्रविन्दु बैशाख ३१ को स्थानीय चुनाव र त्यसपछि लगातार हुने केन्द्रीय संसद र प्रदेश संसदको चुनावसँग सम्वन्धित रहेको देखिन्छ ।
विगतको दश बर्ष फुटको राजनीतिमा रमाएका मधेसी दलहरुलाई पछिल्लो समय एमाले लगायत केही मुलधारका राजनीतिक दलहरुले घोषित रुपमै खेद्न थालेपछि उनीहरु आफुलाई मजवुत बनाउने रणनीतिमा लागेका हुन् ।
मधेसी राजनीतिलाई गहिरो रुपमा हेर्दै आएका एक विश्लेषकका अनुसार मधेसी मोर्चामा आवद्ध ७ मध्य ६ दलबीचको एकता मधेस र विषेश गरी प्रदेश नम्वर २ र त्यस वरिपरि रहेका क्षेत्रमा मुख्य राजनीतिक दलहरुको प्रभाव खुम्चाउने र आगामी तीनै चुनावमा ‘क्लिन स्विप’ गर्ने रणनीति अनुसार आएको हो । चुनावमा मधेसीमा जान पनि मोर्चाले एकीकरण गर्नै पर्ने थियो । मधेसमा मोर्चाका नेताहरुको फुटलाई त्यहाँका जनताले एकीकरणको सर्त तेर्साएर त्यसपछि मात्रै सहयोग गर्न सकिने बताउदै आएका थिए । त्यो हिसावले पनि मोर्चामा आवद्ध दलहरुको मिलापलाई राष्ट्रिय राजनीतिकै सकरात्क सन्देशको रुपमा पनि लिन सकिन्छ ।
यसको अर्को पक्ष भनेको मोर्चामा आवद्ध दलहरुको विगतमा खुला रुपमा देखा परेको ‘प्रो भारतीय’ दलको विल्ला पनि हुन सक्ने अनुमान केहीको छ । पछिल्लो समय नेपाली राजनीतिमा एकपछि अर्को असफलता खेप्दै आएको भारतीय एउटा पक्षले आफ्नो प्रभाव बढाउन पनि मधेसी दलहरुबीच एकता गराएको हुन सक्ने विश्लेषण पनि छिटफुट सुनिन थालेको छ । विभिन्न राजनीतिक परिवेशमा खुलेआम मधेसी दललाई निर्देशन गर्न सक्ने हैसियत राख्ने भारतीय पक्षको यो एकतामा कहि न कहि कुनै न कुनै भुमिका रहेको पक्कै हुनसक्छ ।
के अव नयाँ राष्ट्रिय जनता दल चुनावमा सहभागि होला त ?
मधेसी दलको ‘ओभरनाईट’ एकीकरणलाई हेर्दा उनीहरु चुनावमा जाने रणनीति अनुसार अघि बढेको देखिन्छ । यस विषयमा उनीहरुको दुई रणनीति हुनसक्छ । पहिलो चुनाव असफल गराउन मधेसी जनतालाई एकीकरणको उर्लाससँगै आन्दोलनको आदीवेरी ल्याउने । र, दोस्रो चुनावलाईनै आन्दोलनको रुपमा प्रयोग गरेर मधेसमा विषेशगरी एमाले र कांग्रेसको प्रभावलाई खुम्चाउने र आफु शक्तिमा आउने ।
६ दलको एकताबाट केही हौसियका मधेसी नेताहरुले सकभर पहिलो विकल्पलाई पहिला अघि बढान खोज्ने देखिन्छ । उनीहरुले पूर्वघोषणा गरेको आन्दोलनको कार्यक्रमलाई प्रभावकारी बनाउन सके निर्वाचनको मिति केही पर सारेर प्राविधिक तयारी पछि मात्रै चुनावमा जाने सक्ने र त्यसले आफुहरुको मनोवल बढेने अनुमान गरेका छन् ।

तर उनीहरु आफ्नो एकतालाईनै राजनीतिक उपलव्धिको रुपमा लिएर बढि नै हौसिए र तराईमा कडा आन्दोलन सुरु गर्नतर्फ अघि बढे भने त्यसले झनै मुठभेडको राजनीतिक यात्रा सुरु गरेर संक्रमणलाई लम्वाउन सक्ने देखिन्छ । जसको परिणाम मधेस बाहेक अन्य क्षेत्रमा चुनाव हुने र मधेसमा चुनाव हुन नसकेको बहानामा त्यहाँका अतिवादी शक्तिहरुले खेल्न सक्ने ग्राउण्ड बन्नेछ, जुन मधेसवादी दलका लागि झनै ठूलो घाटा सावित हुन सक्छ । तसर्थ मधेसी दलले आफुहरुबीचको एकतासँगै राष्ट्रिय राजनीतिलाई पनि स्थिर बनाउन लोकतान्त्रीक विधिलाई आन्दोलनको हतियार बनाउनु पर्छ ।

प्रतिकृया