अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

बिहिबार, भदौ २९, २०७४ | ०९:२२:४८ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

वासिङ्गटन डिसी, भदौं २९ः अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दे छन् । यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ ।

अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले संक्षिप्त कुराकानी गर्दै भने, – नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ । अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो ।

एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको विद्युत् सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तर माथि उकास्न र देशको दिगो विकासमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

प्रतिकृया