इंग्ल्याण्ड विश्वकप फुटबलमा छानियो, अर्जेन्टिनाको यात्रा कठिन मोडमा

शुक्रबार, अशोज २०, २०७४ | ०८:४९:५४ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असोज २०ः स्टपेज टाइममा क्याप्टेन ह्यारी केनले गरेको १ गोलले इंग्ल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छानिएको छ ।

बिहीबार राति भएको स्लोभानियासँगको खेलमा इंग्ल्याण्डले संघर्षपूर्ण जित निकाल्दै विश्वकपको यात्रा तय गरेको हो । समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डलाई विश्वकपमा छनौट हुन ड्र मात्रै भए पनि पुग्दथ्यो । तर खेल सकिन केही सेकेन्ड मात्रै बाँकी रहँदा टोटेनह्याम स्टार केनले काइल वाल्करको क्रसलाई गोलमा परिणत गरेका हुन् ।

यस्तै शुक्रबार बिहान पेरुसँगको खेलमा गोलरहित बराबरी खेलेपछि विश्व फुटबलका स्टार खेलाडी मेस्सी र उनको टिमको विश्वकप यात्रा जटिल मोडमा पुगेको छ । खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने । दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ ।

पाँचौ स्थानमा रहेको पेरुको भने विश्वकपमा छनौट हुने सम्भावना जीवितै छ । पेरुले अब कोलम्बियासँग आफ्नो अन्तिम खेल खेल्नेछ । अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।

त्यस्तै उरुग्वेलाई भेनेजुएलाले गोलरहित बराबरीमा रोकपछि विश्वकपमा छनौट हुन बाँकी खेलहरु कुर्न पर्ने भएको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले आजको खेल जितेको भए मात्रै विश्वकपमा छनौट हुन्थ्यो ।

प्रतिकृया