नारायणगढ–मुग्लिङ सडकखण्ड सात घण्टा बन्द

शनिबार, कार्तिक २५, २०७४ | ०९:२०:२५ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

चितवन, कात्तिक २५ः नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबार सात घण्टा बन्द हुने भएको छ ।

चितवनको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन सात घण्टा बाटो बन्द गर्न लागिएको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म गाडीको आवतजावत रोकेरै ढुंगा पन्छाउने काम गरिने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।

उनले बाटो अवरुद्ध हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह पनि गरेका छन् । आइतबारदेखि भने कालोपत्र गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइने छ ।

आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि साढे बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । यो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा झण्डै ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ ।

झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम सुरु गरिएको हो । यो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सकिएको छ ।

प्रतिकृया