विशिष्टलाई लाखौं खर्च, विपन्नलाई रोगसँगै ऋणको भारी

शुक्रबार, पुस २१, २०७४ | ०८:२१:३२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २१ः इलाम जिल्लाको दुर्गममा पर्ने फाकफोकथुम गाउँपालिका–७, फुएतप्पाका १० वर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौंतारिइरहेका छन् । अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ उपचार खर्च जुटाउनु ‘फलामको चिउरा चपाए’ जस्तै हो ।

‘के गर्नु, उपचार नगरौं छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौं जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो,’ रोमनाथले भने, ‘डाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नु परेको छ, आफन्त र छिमेकीले पैसा उठाएर पठाइदिएका छन् ।’

सरकारले डाइलासिसको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि वडादेखि काठमाडौंसम्मका अस्पतालमा कागजात मिलाउने झन्झटिलो प्रक्रियाका कारण उनले यो सुविधा लिन सकेका छैनन् । सरकारले विशिष्ट व्यक्तिहरुको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दुरदराजका विपन्न बिरामीको मत भत्भती पोल्छ ।

टाउकोमा ऋणको भारी बोकेर रोगसँग संघर्ष गरिरहेका विकटका विपन्न सरकारले विशिष्ट व्यक्तिहरुको उपचार र सेवा सुविधामा रकम छुट्याएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् । –नागरिक दैनिकबाट

प्रतिकृया