​बिहारका पूर्व मुख्यमन्त्री यादवलाई साढे ३ वर्षको जेल सजाय

शनिबार, पुस २२, २०७४ | ०८:३३:५५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २२ : भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो सिबिआई ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ ।

उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ । पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो । सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गरेका हुन् ।

अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा छ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको छ । लालुबाहेक उक्त आरोपमा थप २० जनामाथि सुनुवाई भएकोमा १४ जनालाई गत डिसेम्बर १४ मा अदालतले दोषि ठहर गरेको थियो । बिहारकै अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन् । तर यादवले आफ्नो उमेर तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आफूमाथि निम्नतम सजाय तोक्न अदालतसमक्ष निवेदन दिएका थिए ।

यादवले अदालतसँग गरेको अपिलमा भनेका छन्, “चारा घोटाला काण्डमा मेरोे प्रत्यक्ष सम्लग्नता थिएन । अतः उमेर र मेरो स्वास्थ्यलाई मध्यनजर गर्दै निम्नतम सजाय तोकियोस ।” पूर्व मुख्यमन्त्री यादवसहितलाई सजाय घोषणा हुँदा अदालत बाहिरको सुरक्षास्थितिलाई कडा पारिएको थियो । यादवसहितका १४ जनाको मुद्दा जनवरी ३ तारिखका लागि सुनुवाईको मिति तय गरिएकोमा सरेर शनिबारमात्र फैसला सुनाइएको छ ।

अदालतले लालु यादवका छोरा तेजस्वी यादव तथा उहाँको दलका केही नेता तथा समर्थकमाथि अदालतको मानहानी गरेको ठहर गरेको छ । उनीहरूले मुद्दाको सुनुवाई गरेका न्यायाधीसलाई धम्की दिने प्रयास गरेको बताइएको छ । भ्रष्टाचार अभियोग लागेपछि उनलाई लोक सभा सदस्य बन्न अयोग्य गरिएको थियो ।

प्रतिकृया