राष्ट्रपति प्रधानमन्त्री भेटवार्ता, अस्थायी मुकाम तोक्न राष्ट्रपतिको आग्रह

सोमवार, पुस २४, २०७४ | ०१:४५:२७ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २४ः राष्ट्रपति विद्या भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सरकारका हरेक निर्णय जनतालाई सहज हुनेगरी आउने विश्वास समेत व्यक्त गरिन् । प्रदेश प्रमुखको नियुक्ति र त्यसको मुकाम तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई उनले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास समेत ब्यक्त गरिन् । bidhya-bhandari_sher-bdr-deuba-

जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न राष्ट्रपतिले सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा पनि राष्ट्रपति भण्डारीलाई औपचारिक जानकारी गराएका थिए ।

प्रदेश प्रमुख तोक्ने तर अस्थायी राजधानी नतोक्ने तयारी सरकारले गरेपछि आलोचना सुरु भएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख तोक्ने बताइए पनि दिउँसो १२ बजेसम्म समय तय भएको छैन । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार बैठक बस्ने संभावना कम छ ।

सरकारले सम्बन्धित प्रदेशसभाले मात्रै प्रदेशको राजधानी तोक्ने पाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै हाललाई अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

प्रतिकृया