डा. केसीको पक्राउबारे प्रधानमन्त्री असन्तुष्ट

मङ्लबार, पुस २५, २०७४ | ०९:४९:३७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौ, पुस २५ः प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीको पक्राउबारे असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवााले आफूलाई जानकारी नदिइएको भन्दै आश्चर्य व्यक्त गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशमा तुरुन्त पक्राउ गर्नू भनी उल्लेख नभए पनि प्रहरीले रातारात डा.केसीलाई समातेकोमा प्रम देउवाले आश्चर्य जनाएको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा.केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।

’डा.केसीको गिरफ्तारीबारे जानकारी नभएको बताउने प्रधानमन्त्री देउवा आफैं गृहमन्त्रीसमेत हुन् । तर, डा.केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ । प्रहरी स्रोतका अनुसार प्रधानन्यायाधीश गोपाल पराजुलीले नै आइजिपी प्रकाश अर्याललाई फोन गरेर ‘जसरी भए पनि तुरुन्तै पक्राउ गर्नू’ भनी निर्देशन दिएका थिए।

लगत्तै आइजिपी अर्यालले प्रधानमन्त्रीलाई समेत जानकारी नदिई पक्राउ गर्न आदेश दिएको स्रोतको भनाइ छ। डा केसी प्रधानन्यायाधीश पराजुलीको बर्खास्तगी लगायत माग राखेर सोमबार दिउँसोबाट अनसन बसेका थिए।

प्रतिकृया