काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव शुरु

शुक्रबार, पुस २८, २०७४ | ०८:२२:४३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, पुस २८: अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दक्षिण एसियाली हस्तकला महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्नुभएको छ । गरिबी निवारण कोषले होटल अन्नपूर्ण, दरबार मार्गमा आयोजना गरेको तीन दिने महोत्सवमा नेपाली कालिगढहरुले उत्पादन गरेका विभिन्न हस्तकला सामग्रीहरुको प्रदर्शन भइरहेको छ ।

कार्यक्रममा ‘नेपाल–को’ ब्राण्ड औपचारिक रुपले सार्वजनिक गरिएको थियो । कोषले नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्राण्ड–नाउँ दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो ।

महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले हस्तकला नेपालको साँस्कृतिक इतिहासको अभिन्न हिस्सा रहेको बताउँदै कोषले सञ्चालन गरेको गतिविधिहरुको प्रभावकारिता र दीगोपन रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शताब्दीयौंदेखि नेपाली हस्तकला सामग्रीहरुको बिभिन्न देशहरुमा उच्च माग रहेको चर्चा गर्दै यो क्षेत्रले नेपाली अर्थतन्त्रलाई सबल बनाउन सक्ने प्रचूर सम्भावना रहेको बताउनुभयो ।

गरिबी निवारण कोषका उपाध्यक्ष डा. यमबहादुर थापाले गरिबी निवारण कोषले कलाकर्मीहरुको जीवनस्तर उकास्न काम गरिरहेको बताउनु भयो । उहाँले हस्तकला उद्योगको दीगोपनाको लागि यसको डिजाईन, क्षेत्रीय तथा राष्ट्रिय तहमा प्रवद्र्धन, नीतिगत स्पष्टता र निर्यातलगायतका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषले हस्तकला सामग्रीहरुलाई दैनिक प्रयोगमा प्रवद्र्धन गर्ने संस्कृतिको विकास गर्न चाहेको बताउनुभयो । उहाँले ग्रामीण र विपन्न कलाकर्मी तथा कालिगढ र हस्तकला सामग्री क्रेताबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यसमेत कोषले राखेको जानकारी दिनुभयो ।

यस आयोजनाबाट कोषले विपन्न एवं ग्रामीण कालिगढहरुको आयस्तरमा बृद्धि हुने समेत आशा राखेको छ, केसीले बताउनुभयो ।

कार्यक्रममा विश्व बैंकका प्रतिनिधि विज्ञान प्रधानले यस आयोजनाले सबै सूचक र लक्ष्य पूरा गरेको जानकारी गराउनुभयो ।

द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ ।

जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आप्mनो आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् ।

यो परियोजनाअन्तर्गत कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत् ७,५०० भन्दा बढी कालीगढको उत्पादनलाई बजारसँग जोड्दै तिनको जीवनस्तरमा सुधार गरेको छ । हरेक समूहमा २० देखि २५ कालीगढ आवद्ध छन् र तिनले आ–आफ्नै क्षेत्रमा उद्यम गरेका छन् । उनीहरुलाई मद्दत गर्न कोषले १० वटा साझा सेवा केन्द्र पनि सञ्चालन गरेको छ ।

 

प्रतिकृया