अनौठा ट्रम्पका अचम्म लाग्ने आनीबानी, एकै दिनमा १२ क्यान डाइट कोक !

सोमवार, फाल्गुन ७, २०७४ | ०९:३१:१२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन ७ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वाधिक विवाद र चर्चामा छाउँछन् । आफूलाई मन नपर्ने व्यक्तिविरुद्ध प्रस्तुत हुने उनको आक्रामक शैली नै चर्चामा आउने मुख्य कारण हो । सामाजिक सञ्जालबाट उनी विवादास्पद अभिव्यक्ति सार्वजनिक गरिरहन्छन् । ७१ वर्षका ट्रम्पका केही आनीबानी अचम्म लाग्ने खालका छन् ।

रिमोट छुन अरूलाई मनाही
ह्वाइट हाउसमा ६० इन्च स्क्रिन भएका टेलिभिजन सेट राखिएका छन् । ट्रम्पले टेलिभिजनमा विभिन्न कार्यक्रम तथा समाचार नियालिरहेका हुन्छन् । न्युयोर्क टाइम्सका अनुसार टेलिभिजनको रिमोट अरूले छोएको ट्रम्पलाई मन पर्दैन । उनको अपेक्षा तोडेर कसैले छुने दुस्साहस पनि गर्दैन । ट्रम्प र उनका प्राविधिक सहयोगी कर्मचारीबाहेक अरूले रिमोट छुँदैनन् । टेलिभिजन सेटमा ट्रम्पलाई मन पर्ने च्यानल मात्रै निश्चित गरिएका छन्, जस्तैः फक्स न्युज ।

कुनै छलफल चलिरहेका वेला पनि आडैमा रहेको टेलिभिजन सेट बन्द हुँदैन । केबल म्युट गरिएको टेलिभिजनमा दौडिरहेका स्क्रोलिङ हेडलाइनमा ट्रम्पका आँखा परिरहेका हुन्छन् ।Donald Trump, Melania Trump

समाचारमा नआए छटपटी
ट्रम्पले हरेक दिन चार घण्टा टेलिभिजन हेरेकै हुन्छन् । उनी न्युज एडिक्टेड नै छन् । कतिपय मन पर्ने सोहरू तोकिएको समयमा हेर्ने फुर्सद नमिले रेकर्ड गरेर पछि हेर्छन् ।

ट्रम्पलाई कुनै न कुनै रूपमा विश्वकै चर्चित व्यक्तिका रूपमा स्थापित भइराख्न मन लाग्छ । न्युयोर्क टाइम्सका अनुसार जब उनी समाचारका हेडलाइनको केन्द्रमा पर्दैनन् तब असहज महसुस गर्न थाल्छन् । उनका एकजना पूर्वसचेतकलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ, ‘दुई–तीन दिनसम्म उनी समाचारमा चर्चामा रहेनन् भने असहज महसुस गर्छन् ।’

हातमा छुट्दैन स्मार्ट फोन
ट्रम्पको हातमा स्मार्ट फोन छुट्दैन । स्मार्ट फोनसँग एकैछिन छुट्टिए भने आनन्द मान्न सक्दैनन्, उनी । समाचारमा अपडेट भइरहने उनलाई आफ्ना धेरै विचार सामाजिक सञ्जालबाट अभिव्यक्त गर्न मन लाग्छ । यसकारण पनि स्मार्टफोनविना उनी रमाउन सक्दैनन् ।

एकै दिनमा सक्छन् १२ क्यान डाइट कोक
ट्रम्पको खानपान र डाइट पनि अचम्मको छ । उनलाई सबैभन्दा बढी मनपर्छ, डाइट कोक । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प मदिरापान र धुम्रपान गर्दैनन्, तर डाइट कोकको पारखी हुन् । कफीसमेत नपिउने ट्रम्प एकै दिनमा १२ क्यानसम्म कोक पिउँछन् । उनको डेस्कमा कोकको क्यान तयारी अवस्थामा हुन्छ ।

ट्रम्प खानाको कुनै परिकारको सौखिन तथा धेरै चासो राख्ने व्यक्ति भने होइनन् । उनी पोटेटो चिप्सलगायत ड्राई फुड नै बढी खान्छन् । खानपानकै कारण उनी रोगी भएको चर्चा पनि मिडियामा भयो । त्यसपछि केही समयअघि ह्वाइट हाउसले उनको ‘होलबडी’ जाँच नै गरायो । तर, उनी पूरै स्वस्थ रहेको रिपोर्ट आयो ।

स्वास्थ्यप्रति सचेत
ट्रम्प स्वास्थ्यप्रति सचेत छन् । हातको माध्यमबाट किटाणु संक्रमण भएर धेरै रोग लाग्ने विषयमा उनी गम्भीर छन् । त्यसैले हातको सफाइमा निकै ध्यान दिन्छन् । लिफ्ट प्रयोग गरेपछि तथा पिज्जालगायत परिकार खाएपछि तुरुन्त सेनेटाइजर प्रयोग गर्छन् । ट्रम्पले ‘द आर्ट आफ द कमब्याक’ नामको आफ्नै किताबमा भनेका छन् कि उनी सकेसम्म धेरैपटक हात सफा गरिरहने प्रयत्न गर्छन् र कुनै रोगको सिकार हुनबाट सचेत रहन्छन् ।

पाहुनालाई बाथरुम अवलोकन
ट्रम्प नियमितजसो डिनरका लागि कोही न कोही पाहुनालाई ह्वाइट हाउसमा आमन्त्रण गर्छन् । मानसिक रूपमा बलियो बन्न सुझाब–सल्लाह दिनेहरू उनका खास पाहुना हुन्छन् । यस्ता पाहुनालाई उनले देखाउने एउटा व्यवहार भने अचम्म लाग्ने खालको छ । उनी अधिकांश पाहुनालाई आफ्नो बाथरुम देखाउने गर्छन्, जुन निकै आकर्षक छ ।

काममा व्यस्त सुताइ कम
ट्रम्प निकै कम सुत्छन् । हरेक रात उनी केवल ५–६ घण्टा मात्रै सुत्छन् । दिउँसो सुत्ने बानी छैन । दैनिक उनी १६ घण्टासम्म काम गर्छन् । -नयाँ पत्रिका

प्रतिकृया