​नेपालको लगातार तेस्रो हार, अफगानिस्तानसँग ६ विकेटले पराजित

आइतवार, फाल्गुन २७, २०७४ | ०८:२१:२१ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, फागुन २७ः विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायो । अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले नटआउट रहँदै सर्वाधिक ५२ रन बनाए ।

त्यस्तै रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमादीले २६ रन बनाए । त्यस्तै रसिद खानले २१ रनको योगदान दिए । समिउल्लाह शेनवारी नटआउट रहँदै ८ रन बनाए । नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए । तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।

आजको हारपछि नेपालको सुपर सिक्समा जाने सम्भावना निकै कठिन बनेको छ । हङकङसँग एक खेल खेल्न बाँकी रहेको नेपालले हङकङलाई भारी अन्तरले हराउन सके मात्र सुपर सिक्समा पुग्नेछ । यदि हङकङले नेपाललाई जितेमा हङकङ नै सुपर सिक्समा जानेछ भने नेपालले झिनो अन्तरमा हराएमा अफगानिस्तान सुपर सिक्समा जानेछ । टस जितेर ब्याटिङ गरेको नेपालको ब्याटिङ समस्या आज पनि देखियो । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । उनलाई मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् । पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर रसीद खानको बलमा आउट भएका हुन् । नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए । ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए ।

उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन ।आठौं विकेटको रुपमा करण केसी ६ रनमा आउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै आउट भए ।

प्रतिकृया