प्रधानमन्त्री ओली अधिनायकवादतर्फ अघि बढेको माओवादी निष्कर्ष

सोमवार, बैशाख ३, २०७५ | १२:१३:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, बैशाख ३ : पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको माओवादी नेताहरुले निश्कर्ष निकालेका छन् ।

‘ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा देखिएका छन्’ एक माओवादी नेताले भने( ‘सरकार सञ्चालनको कार्यशैली हेर्दा उनी खतरनाक अधिनायकवादतिर उन्मूख भइरहेका छन्, त्यसैले बेलैमा सतर्क हुनुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।’

प्रचण्डसँग निकट केही माओवादी नेताहरुसँग अनौपचारिक कुराकानी गर्दा उनीहरुले यस्तो निष्कर्ष सुनाएका हुन् । ‘केपी ओली दुईवटा वामपन्थी धारलाई आपसमा मिलाउने र सम्मानजनक एकता गर्ने पक्षमा छैनन् । उनी माओवादीलाई फसाएर आत्मसमर्पण गराउन अनि सिध्याउन चाहन्छन्’ ति नेताले भने, ‘ओलीले प्रचण्डलाई पनि अध्यक्ष बनाउने आश्वासन त दिएका छन् । तर, उता माधव नेपाललाई पनि महाधिवेशनपछि तपाईलाई पार्टी अध्यक्ष बनाउँछु भनेर आफ्नो नजिक ल्याएका छन् । एमाले नेता माधव नेपाल पिँध नभएका लोहोटा हुन् भन्ने पुनः एकपटक पुष्टि भएको छ ।’

माओवादीले केपी ओलीले सरकारका सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह नगरेकोमा पनि आपत्ती जनाएको छ । ‘यतिसम्म कि माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल नगरी उनी एकलौटी ढंगबाट सरकार सञ्चालन गरिरहेका छन्’ ति नेताले भने, ‘एउटै पार्टीभित्र त नेताहरुसँग छलफल र सल्लाहका आधारमा सरकार चलाउनुपर्छ भने अहिले बेग्लै रहेको माओवादीलाई बाइपास गर्ने ओलीको चाहना देखिएको छ ।’

सम्मानजनक पार्टी एकता गर्ने लाइनबाट केपी ओलीमा विचलनको सुरुवात उनको बैंकक भ्रमणपछि भएको माओवादी निष्कर्ष छ । ‘त्यहाँ उनले भारतीय ‘रअ’का उच्च अधिकारीलाई भेटे र आफूले लिँदै आएको राष्ट्रवादको अडानलाई बिर्सेर मोदी सरकारसँग लाइन मिलाए’ उनले भने, ‘त्यसैको क्लाइमेक्स हो, उनको भारत भ्रमण, जहाँ केपी ओलीको राष्ट्रवादको भाँडो पूर्णरुपमा घोप्टियो ।’

विशेषगरी भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा बढी देखिएको ति नेताको धारणा छ । ‘माओवादी आएन भने मधेसी दलले हामी छौं भनेर ओलीलाई आश्वासन दिइरहेका छन्’ उनले भने ।
माओवादी नेताहरुले ओली अधिनायकवादतर्फ अघि बढ्को समेत विश्लोषण गरेका छन् । माओवादी र एमालेबीच पछिल्लो समय बढेको तित्तताले पार्टी एकता हुन सम्भावना घट्दै गएको छ ।

प्रतिकृया