सुन तस्करीको मुद्दामा फरार एमके अग्रवालको घर खानतलासीबाट नाङगो हात फर्कियो प्रहरी

शनिबार, जेष्ठ २६, २०७५ | १२:०२:०५ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

mkकाठमाडौं, जेठ २६ : प्रहरीले ८ घन्टा लगाएर ३८ सय किलो सुन तस्करीको मुद्दामा फरार मोहन अग्रवाल (एमके) को घरमा सर्च अप्रेसन गरेको छ।

हिजो बिहान करिब ११ बजे काठमाडौंस्थित अग्रवालको घर पुगेको सर्च टोली राति ८ बजे मात्र बाहिरिएको छानबिन समितिका एक सदस्यले बताए।

काठमाडौं वडा नम्वर २९ का निर्वाचित वडा सदस्य र छिमेकीको रोबहरमा अग्रवालको घरमा प्रहरीसहितको समितिले सर्च अपरेशन चलाएको हो।

तीन महिनादेखि मान्छे नबसेको उक्त साढे २ तलाको आलिशान बंगला धुलो र फोहोरले ढाकिएको थियो।

सरकारले सुन काण्ड छानबिनका लागि बनाएको विशेष अनुसन्धान समितिको निर्देशन अनुसार अग्रवालको घरमा प्रहरीले छापा मारेको हो।

सुनसरीको धरान स्थायी घर भएका मोहनकुमार काठमाडौंको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै बस्दै आएका थिए।

छापा मार्ने क्रममा प्रहरीले नेपाली र भारतीय रूपैयाँ गरी ३१ लाख रूपैयाँ नगद, ५ किलो चाँदी एक थान सुनको बिस्कुट, सुन बोक्न प्रयोग हुने कालो रंगको ज्याकेट ३ थान, सुन बोक्ने बट्टा, एक दर्जन विभिन्न बैंकका चेक बुकलगायतका सामान बरामद भएको छ।

१७ जनाको सर्च टोलीले दुबईको ड्यूटी फ्रिमा प्याक भएका महंगा ब्राण्डका रक्सी, भरियामार्फत तयार पारिएका सुन बोक्ने झोला बरामद गरेको छ।

‘उनको घरमा सुन बोक्ने र ओसार पसारसम्बन्धी तालिम पनि दिने गरिएको रहेछ,’ समितिका एक सदस्यले भने,‘घरमा सुन भण्डारण गर्ने गरेको पनि देखिएको छ।’

उनकी श्रीमतीले घरमा भएका अरू सुन र नगद लिएर भागेको हुनसक्ने अनुमान टोलीले गरेको छ।

प्रहरीले अग्रवालले प्रयोग गर्ने गरेको बा१० च २८२ नम्बरको कारसमेत बरामद गरेको छ।

टोलीले अग्रवालको खोजी गरिरहेको जनाएको छ।

उनको घरबाट प्रहरीले केही महत्वपूर्ण कागजपत्रसमेत फेला पारेको छ।

अग्रवालको कोठाबाट प्रहरीले विभिन्न ब्रान्डका ११ वटा महंगा कारको साँचो समेत फेला पारेको छ।

यसअघि पूर्पक्षको लागि थुनामा रहेकामध्ये अधिकांशले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिए पछि अग्रवाल फरार भएका थिए।

हाल अग्रवाल दिल्लीमा बसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिकृया