संचार मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रमनै बन्द गराए, पत्रकार महासंघको भत्सना

बुधबार, जेष्ठ ३०, २०७५ | ०७:१७:४८ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको निर्देशनपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम “सिधा कुरा” बन्द भएको छ।

कार्यक्रम प्रस्तोता राजु थापाले मंगलबार टेलिभिजन प्रशासनले दबाब थेग्न गाह्रो भएकाले कार्यक्रम निरन्तर नहुने जानकारी गराएको बताए।

सरकारका सय दिनको समीक्षा गर्न गत शनिबारको कार्यक्रममा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री बाँस्कोटालाई अतिथि बनाइएको थियो। सोही कार्यक्रममा आफूले सोधेका प्रश्नको रिसमा मन्त्रीले कार्यक्रम बन्द गरिदिएको थापाको आरोप छ।

‘मलाई पूरै कार्यक्रमभरि गाह्रो लागेको थियो। दाइजोको विषयआएपछि बढी तनावपूर्ण भयो,’ थापाले भने, ‘कार्यक्रम सकिएपछि मन्त्रीज्यू आज पहिलो पटक मलाई कार्यक्रम चलाउन गाह्रो भयो भनें। उहाँ केही नबोली हिँड्नुभयो। हिजो कार्यक्रम बन्द भयो भनेर फोन आयो।’

कार्यक्रमको ३६ औं मिनेटमा सुशासनको विषयमा कुरा सुरू हुन्छ। सुरूमा मन्त्री बाँस्कोटाले १७ तोला सुन र ६० तोला चाँदी माइतीबाट नल्याएको दाबी गर्छन्। एकछिनमा सम्पत्ति विवरण देखाएपछि उनले चाररपाँच तोला हुनसक्ने बताउँछन्।

यसैबीच नेपाल पत्रकार महासंघले प्रश्न गर्न पाउने पत्रकाहरुको स्वतन्त्रता खोसेको भन्दै कार्यक्रम बन्द गराउने निर्णय तत्काल सच्चाउन माग गरेको छ । पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै नेपाल टेलिभिजनको सिधा प्रश्न भन्ने कार्यक्रम तत्काल सुचारु गर्न माग गरिएको छ ।

प्रतिकृया