प्रधानमन्त्रीलाई डा.केसीको जवाफ, ‘फोनमा कुरा होईन काम पुरा गर्न लाग्नुस्’

सोमवार, असार २५, २०७५ | ०२:४०:४४ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

dr kcकाठमाडौं, असार २५ : जुम्लामा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न नपर्ने बताएका छन्।

सोमबार बिहान प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग फोनमा कुराकानी गर्न खोजेका थिए।

‘म बोल्न सक्दिनँ। टेलिफोनमा कुरा नगरौं। मेरा सबै मागबारे थाहा छँदै छ। माग पूरा गर्नेतर्फ लाग्नुस् भन्ने जवाफ दिनुभयो,’ जुम्लामा रहेका केसीका सहयोगी किशोर केसीले भने।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक आउनु पर्नेलगायतका माग राखेर डाक्टर केसी अनसन बसेको आज १० औं दिन हो।

प्रधानमन्त्री कार्यालयले डाक्टर केसीसँग अप्रत्यक्ष संवाद सुरू भएको जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रत्यक्ष संवाद पनि हुने बताए।

‘प्रधानमन्त्रीले उहाँको विषयमा चासो राख्नु भएको छ। गोविन्द केसीसँग अप्रत्यक्ष छलफल सुरु भएको छ,’ अर्यालले भने, ‘सम्बन्धन रोक्ने र मेडिकल कलेजको संख्या बढाउन पाइन्नबाहेकका सबै कुरामा छलफल गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ।’

अर्यालले आइतबार भएको चिकित्सक संघका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्रीले डाक्टर केसीसँग कुरा गर्ने वातावरण बनाउन भनेका थिए।

‘तपाईंहरू वातावरण बनाउनुहोस्। म खुल्ला भएर गोविन्द केसीसँग कुरा गर्छु। केही गाह्रो छैन। तर उहाँले अनसन तोडेर काठमाडौं आउनुपर्छ भन्नुभएको थियो,’ अर्यालले भने।

प्रतिकृया