असारे वजेट सक्न न्यायधीशको जम्बो टोली जर्जिया भ्रमणमा

मङ्लबार, असार २६, २०७५ | ०३:२५:२० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं, असार २६ : सर्वोच्च अदालतको न्यायाधीशसहित एउटा टोली घुमफिरका लागि युरोपेली मुलुक जर्जियातर्फ लागेको छ ।

असार मसान्तभित्रै बजेट सक्ने उद्देश्यले न्यायाधीश र सर्वोच्च प्रशासनका कर्मचारीसहितको टोली अवलोकन भ्रमणका नाममा आइतबार एक साताको युरोप टुरमा गएको हो । न्यायाधीश आनन्द मोहन भट्टराईको नेतृत्वको टोलीमा न्याय सेवा बाहिरहरु पनि छन् ।

मेलमिलापसम्बन्धी अनुभव आदान-प्रदान गर्ने भनिएको भ्रमण दलमा उच्च अदालतका न्यायाधीश केशव जोशी, सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराई, सह-रजिस्टार नारायण पन्थी, जिल्ला न्यायाधीश अर्जुन अधिकारी र शाखा अधिकृत सुवर्णप्रसाद खनाल छन् ।

त्यस्तै मेलमिलापकर्ताका नाममा सरिता श्रेष्ठ र गीता शर्माका साथै अधिवक्ता मात्रिका निरौलालाई पनि भ्रमण दलमा पारिएको स्रोतले जनाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सिफारिसमा परेका उनीहरु सर्वोच्चको मेलमिलाप परिषद्सँग आबद्ध छैनन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार सरकारले यसअघि अमेरिका भ्रण्मणका लागि स्वीकृति दिएको थियो । तर, भ्रमण रद्द भएका कारण खर्च नभएको करिब ५० लाख बजेट सिध्याउने उद्देश्यले जर्जिया भ्रमण भएको हो ।

असार मसान्तभित्र सो बजेट खर्च गरिसक्ने गरी भ्रमणको मिति तय गरिएको र सरकारले जारी गरेको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका(२०७५ विपरीत रहेको एक अधिकारीले बताए ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले भने जर्जियाको सर्वोच्च अदालतको निमन्त्रणामा दुवै देशका मेलमिलाप पद्दतिको अनुभव आदान प्रदानका लागि भ्रमण दल एक साताका लागि त्यसतर्फ गएको बताए ।

उनले बजेटका सन्दर्भमा भने केही बताउन चाहेनन् । तर, उताको निमन्त्रणामा भ्रमण गर्दा पकेट खर्च र भ्रमणभत्ता बाहेक खाने बस्ने व्यवस्था उतैबाट हुने पद्धति रहेको पोखरेलले बताए ।

प्रतिकृया