विवेकशिल सझा पार्टीमा चर्को विवाद, पार्टी फुट्न सक्ने चेतावनी

सोमवार, साउन २१, २०७५ | १२:१६:३९ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

bibekseel sajhaकाठमाडौं, साउन २१ : विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले आइतबार बिहानै एउटा ट्विट गरिन्, जसमा उनले भनेकी छिन्– ‘विवेकशील साझा पार्टी निश्चितरुपमा संकटमा छ ।’

गत वर्ष काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जुले आफ्नो पार्टीभित्रको संकट सार्वजनिक गरिरहँदा विवेकशील साझा पार्टीको आन्तरिक कलहको सामाचार मिडियामा आइसकेको थियो । शुक्रबार केन्द्रीय कार्यालयमा सम्पादकहरुसितको छलफल सकिनासाथ कार्यकर्ता र नेतावीच कार्यालयभित्र बन्द कोठामा विवाद भएको थियो । शनिबार दिउँसो चाहिँ प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा गर्ने कार्यक्रममा खुल्लम खुल्ला नाराबाजी र होहल्ला भयो ।
उज्वल थापाले नेतृत्व गरेको विवेकशील नेपाली दल र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीवीच एकीकरण भएको ठ्याक्कै एक वर्ष पुग्दै गर्दा पार्टिीभित्रको किचलो बाहिर आएपछि अनुशासन आयोगका संयोजक किशोर थापाको संयोजकत्वमा छानविन समितिसमेत गठन भएको छ ।
तर अहिले उज्जल थापा भने अमेरिकामा छन् ।

थापाले पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताहरुको वयान लिने र तहकिकात गर्ने अधिकार पाएका छन् र उनले कामसमेत थालिसकेका छन् । विहीबार र शुक्रबार दुईदिन बस्ने केन्द्रीय कमिटीको बैठकमा थापाले प्रतिवेदन पेश गर्ने स्रोतले बतायो । पार्टीका केही सदस्यहरुले सार्वजनिक कार्यक्रममै नाराबाजी गरेपछि उनीहरुमाथि अनुशासनको कारवाही हुन सक्ने पार्टीको उच्च स्रोतले बताएको छ ।

विवेकशील साझा पार्टीले आउँदो विहीबार र शुक्रबार दुई दिन आयोजना गर्न लागेको बैठकको मुख्य एजेण्डा पार्टी एकीकरणपछिको एक वर्षबारे समीक्षा गर्ने रहेको स्रोतले बतायो । तर, बैठकअगावै विवाद देखिएपछि यसबारे किशोर थापाले प्रस्तुत गर्ने प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।

उज्वल थापाको स्कुलिङमा हुर्किएको पुरानो विवेकशील समूहका कार्यकर्ताहरुको कार्यशैली समस्याका रुपमा सतहमा आएको पूर्वसाझा पार्टीतर्फका नेताहरुको बुझाइ छ

आइतबार पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘शनिवार बानेश्वरमा प्रदेश नं ३ को ६ वटा जिल्लाका संयोजकहरूको घोषणा कार्यक्रममा केही व्यक्तिहरूबाट भएको हुलदङ्गाप्रति हामी अत्यन्तै दुःखी छौँ । सो हुलदङ्गामा संलग्न कतिपय पार्टीको सदस्य नै नरहेको र घुसपैठ समेत भएको हामीले प्रारम्भिक सूचना पाएका छौं ।’

प्रवक्ता आचार्यले अगाडि भनेका छन्– ‘हुलदङ्गा र त्यसमा संलग्नहरूका बारे सूक्ष्म छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउन शनिबार नै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले न्याय तथा सुशासन आयोगलाई सिफारिस गरिसकेको छ । यस विषयमा हामी तपाईँको धैर्यको अपेक्षा गर्दछौँ ।’

आचार्यको विज्ञप्तिमा भनिएको छ– ‘हामी हाम्रा शुभेच्छुक र सदस्यहरूको व्यवहारिक र जायज आवाज तथा आलोचनाको सधैँ सम्मान गर्नेछौँ । तर, अभद्र व्यवहार स्वीकार्य हुने छैन । पार्टी निर्माणको क्रममा आएका प्रतिकूलताहरू हामी चिर्दै जाने नै छौँ ।’

प्रतिकृया