हामीलाई भारतीय प्रधानमन्त्री मोदीको साथ छ : प्रधानमन्त्री ओली

बुधबार, साउन २३, २०७५ | ०१:२५:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

pm oliकाठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै मेहनत गर्नुपर्ने भएको बताएका छन् ।

भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध राम्रो भएको तर, प्रमुख विपक्षी दल कांग्रेस जसरी हुन्छ सरकारलाई असफल बनाउन योजनामा लागेको उनको दाबी थियो ।

सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेकपाका अध्यक्षसमेत रहेका ओलीले ‘आज केही ब्रिफिङ गर्छु’ भन्दै सम्बोधन सुरु गरेका थिए । उनले साढे २ घन्टा बोलेपछि बैठक भोलिलाई स्थगित भयो ।

सुरुमा ओलीले प्रधानन्यायाधीशमा दीपकराज जोशीको सिफारिस र अस्वीकार गर्नुका कारण खुलाएका छन् । उनले न्यायपरिषद्बाट आएको सिफारिसलाई संवैधानिक परिषद्ले अघि बढाएको तर, सुनुवाईका क्रममा विवादहरु आएपछि अस्वीकार गर्ने निर्णयमा पुगेको नेताहरुलाई बताएका छन् ।

‘अनुमोदन नगर्ने भनेर पठाएको होइन । केही कुरा आएपछि गर्न नमिल्ने जस्तो देखियो’ उनले भनेका छन् ।

प्रधानन्यायाधीशमा आफैंले सिफारिस गर्ने र आफैंले अस्वीकृत गर्न पार्टी सांसदहरुलाई हृवीप लगाएको भन्दै प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारको छिमेकी मुलुकहरुसँग सम्बन्धबारे पनि बताएका छन् ।

पछिल्लो समय भारतसँग सम्बन्ध सुधार भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पक्ष नेपाल र आफ्नो सरकारप्रति निकै उदार देखिएको उनको ब्रिफिङ छ । यद्यपि भारतको कांग्रेस लगायतका शक्तिले भने अहिले पनि विभिन्न बहानामा खेल्ने खोजेको उनले बताएका छन् ।

अर्को छिमेकी चीनसँग पनि सम्बन्ध राम्रो भएको ओलीले ब्रिफिङ गरेको सचिवालयका एक सदस्यले बताएका छन् ।

अझै मेहनत गर्नुपर्ने देखियो

पछिल्लो समय नेकपामा नेताहरुले सरकारको कामकारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने माग उठाएका छन् ।

बुधबारको बैठकमा ओली यसप्रति नरम देखिएको एक नेताले बताए । उनका अनुसार ओलीले सरकारले अझै मेहनत गर्नु पर्ने देखिएको बताएका छन् । ‘सरकारबारे धेरै कुरा त भएन । उहाँले राम्रो काम नगर्नेहरुले विदा पाउनसक्छन् भनेको छु भन्नुभएको छ’ एक नेताले भने ।

सरकारलाई अझ प्रभावकारी बनाएर पार्टी र मन्त्रिपरिषद्मा रहेकाहरु एकवद्ध भएर लाग्नुपर्ने उनको धारणा थियो ।

नेताहरुका अनुसार भोलिको सचिवालय बैठकमा सांगठनिक विषयमा छलफल हुनेछ भने सरकारको कामकारबाहीको समीक्षा गर्न छिट्टै स्थायी कमिटी बैठक बोलाउने सम्भावना छ ।

प्रतिकृया