नेपाल–चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटकलमा आजदेखि छलफल

बुधबार, भदौ २०, २०७५ | ११:४३:३२ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

china_nepal_flag_20130425061048काठमाडौं, भदौ २० : नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच आजदेखि र भोलि छलफल हुने भएको छ।

काठमाडौंको होटल सोल्टीमा हुने छलफलका लागि चिनियाँ प्रतिनिधि मण्डल मंगलबार राजधानी आइपुगेको छ। चिनियाँ टोलीसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु नेतृत्वको नेपाली टोलीले दुई दिन छलफल गर्नेछ।

‘प्रोटोकलका सम्बन्धमा यसअघि ल्हासा र बेइजिङमा पनि छलफल भइसकेको छ। यो तेस्रो छलफल हो। धेरै कुरामा दुबै पक्ष खुला छन्। आशा गरौं यसपालि नै प्रोटोकल टुंगिन्छ कि,’ सहसचिव सैंजुले भने।

उनका अनुसार दुई देशबीच व्यापारका लागि प्रयोग हुने बन्दरगाह, रूट र मोडालिटीमा छलफल हुनेछ।

‘यसअघिका छलफलमा बन्दरगाह र रूटमा चिनियाँ पक्षले जुन सजिलो हुन्छ त्यही प्रयोग गर्न सकिने बताएको छ। मोडालिटीमा भने थप छलफल गर्नुपर्ने देखिएको छ,’ सैंजुले भने।

दुई वर्षअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर अहिलेसम्म त्यसको प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन।

गत असारमा प्रधानमन्त्री ओलीको चीन जाँदा प्रोटोकलमा हस्ताक्षर हुने अपेक्षा गरिए पनि थप छलफल गर्नुपर्ने भएकाले हस्ताक्षर हुन नसकेको बताइएको थियो।

त्यसपछि प्रोटोकलका विषयमा छलफल गर्न नेपाली टोली चीन गएको थियो।

प्रोटोकलमा टुंगिएसँगै नेपाललाई चीनबाट सामान निर्यात गर्न थप सहजता हुनेछ।

प्रतिकृया