कर्मचारीको आन्दोलनले पोखराकाे स्वास्थ्य विज्ञान प्रतिष्ठान ठप्प

सोमवार, अशोज १५, २०७५ | १२:३७:१० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

pokhara health science acपोखरा, असोज १५ : गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ सय कर्मचारी ५ दिनदेखि आन्दोलित छन् ।

प्रतिष्ठानमा व्यवस्थापन समितिमार्फत नियुक्त भएका २ सय ९० जना कर्मचारीहरु नियमित तलब पाउनुपर्ने, करारका कर्मचारीलाई स्थायी र स्तरवृद्धि गर्नुपर्ने माग गर्दै सबै काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी आन्दोलनका कारण प्रतिष्ठानमातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक बाहेक सबै सेवा थप्प छन् । सबैभन्दा बढी बिरामी जाने प्रदेशकै ठूलो अस्पताल हड्तालका कारण अस्तव्यस्त बनेको छ ।

कर्मचारी युनियनले राखेको माग पूरा नभएसम्म हड्ताल जारी रहने कर्मचारीको भनाइ छ । प्रतिष्ठानले आफूहरुको माग सम्बोधन नगरे अझै सशक्त रुपमा अघि बढ्ने कर्मचारी शंकर भण्डारीले बताए ।

‘स्थायी कर्मचारीको पनि स्तर बृद्धि भएको छैन । करारले अझै स्थायी नियुक्ति पाएका छैनन् । यी कुरा सम्बोधन नभए अझै कडा रुपमा जान्छौं’ भण्डारीले भने ।

कर्मचारी र प्रशासनबीच वार्ता हुने बताइए पनि अस्पताल प्रशासनले चलानी नम्बर नै नभएको चिठी पठाएको भन्दै कर्मचारीले मानेनन् । सोमबार फेरि वार्ताका निम्ति बोलाएको कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।

‘लामो समयदेखि काम गरेका कर्मचारीको मूल्यांकन भएन, स्थायी र स्तरवृद्धि गरिनुपर्छ भन्ने हाम्रो मागलाई प्रतिष्ठानले बेवास्ता गरेका कारण आन्दोलनमा उत्रिनु परेको हो,’ भण्डारीले भने ।

‘प्रशासनले पठाएको चिठीमा चलानी नम्बर नै थिएन । आधिकारिक सूचनाबिना हामी कसरी वार्तामा जाने र रु,’ अध्यक्ष श्रेष्ठले भने, ‘चलानी नम्बर बिना चिठी पठाउने एउटा जिम्मेवार निकाय कसरी गैरजिम्मेवार बन्न सक्छ रु’

कर्मचारीले साउत यता तलब नै खान पाएका थिएनन् । तर, अहिले प्रशासनले रोकिएको सबै तलब खातामा जम्मा गराइसकेको जनाएको छ ।
सिनेटका कारण रोकिएको तलब खातामा जम्मा गरिदिइसकेको प्रतिष्ठानका लेखाप्रमुख ईन्द्रप्रसाद पौडेलले बताए ।

आफ्नो क्षेत्राधिकारभित्रको कर्मचारी माग पूरा गर्न सक्ने तर त्योभन्दा बाहिर निर्णय गर्न नसक्ने प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापा बताउँछन् । अस्थायीलाई स्थायी बनाउने आफूहरुको अधिकारबाहिरको कुरा भएकाले सम्बोधन गर्न नसक्ने उनको भनाइ थियो ।

युनियनले प्रतिष्ठानमा कार्यरत करार कर्मचारीलाई समयमा तलब व्यवस्था गर्नुपर्ने, उनीहरुलाई यथाशीघ्र स्थायी नियुक्ति पत्र दिनुपर्ने र स्थायीको स्तर वृद्धि गर्नुपर्ने लगायत माग राखेर ५ दिनदेखि कर्मचारीले प्रतिष्ठानमा हड्ताल गरिरहेका छन् ।

प्रतिकृया