विराटनगरबाट पनि माउन्टेन फ्लाईट सुरु

शनिबार, मंसिर ८, २०७५ | ०२:४१:५० pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

m flightविराटनगर, मंसिर ८ : आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ ।

प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट सुरु गरिएको हो ।

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरिएको थियो । विशेषगरी भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ । पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर्ड विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने छ ।

विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग साझेदारी गरिएको छ । कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ ।

विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सय रुपैयाँमा विराटनगरबाट माउन्टेन फ्लाइट गर्न पाउनेछन् । त्यसमा प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न पाइने छ । प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिन्छ ।

प्रतिकृया