दोहा बैकको शाखा नेपालमा

बुधबार, मंसिर १२, २०७५ | ०२:१२:०३ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

doha bankकाठमाडौं, सिर १२ : कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। थापाथलीमा कार्यालय खोलेर काम सुरू भए पनि डिसेम्बरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो।

नेपालस्थित बैंकका प्रमुख प्रतिनिधि सुरज विक्रम शाहीले यहाँका बैंकहरुलाई दोहा बैंकका अन्य शाखासँग जोडिन यस कार्यालयले सहजकर्ताको काम गर्ने जानकारी दिए।

‘बैंकको स्वीफ्ट कोड मार्फत दोहा बैंकका अन्य शाखासँग जोडिन हामीले सहजकर्ताको रूपमा काम गर्छौँ’ उनले भने। हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम भइसकेको उनले जानकारी दिए।

अन्य वाणिज्य बैंकहरुसँग पनि आरएमए गर्दै जाने शाहीले बताए। आरएमए भइसकेपछि मात्रै एलसी (लेटर अफ क्रेडिट) को काम अघि बढाउन सकिने उनले बताए। ‘यस कार्यालयले एलसी एड्भाइजरको रुपमा रहेर काम गर्छ,’ शाहीले भने, ‘बैंकहरुलाई एलसीका लागि छनोट अवसर पनि बढेको छ।’

सम्पर्क कार्यालय सञ्चालनमा आइसकेकाले अब यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालय रहेका देशहरुमा समेत विश्वास बढ्ने कार्यालयको भनाइ छ।

यो कार्यालय खुलेसँगै कतारमा काम गर्ने लाखौं नेपालीले सिधै आफ्नो खातामा पैसा पठाउन सक्नेछन्। नेपालीले त्यहाँको बैंकमार्फत् सीधै यहाँस्थित आफ्नो खातामा रकम पठाउन सक्ने शाहीले जानकारी दिए। यसरी रकम पठाउँदा अन्य रेमिट्यान्स कम्पनीहरुमा जस्तो खर्चिलो हुँदैन।

दुई देशका बैंकहरुबीच कार्यालयले सहकार्य गराइसकेपछि सिधै त्यहाँका बैंकमार्फत यहाँ आफ्नो खातामा रकम जम्मा हुनेछ।

नेपालमा रहेको सम्पर्क कार्यालयले प्रत्यक्ष रुपमा कुनै पनि आर्थिक कारोबार भने गर्ने छैन। उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन्।

प्रतिकृया