महिलाको भित्री वस्त्र लिएर प्रियंका पुगिन स्कूलमा, किशोरीहरु लाजले भए भुतुक्कै

बुधबार, फाल्गुन २२, २०७५ | ११:२३:३७ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । एक महिनाअघि आफूहरूले स्थापना गरको आयंका फाउन्डेसनमार्फत अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले स्कुलस्कुलमा पुगेर किशोरी विद्यार्थीलाई महिनावारी हुँदा प्याड प्रयोग गर्ने तरिका सिकाएका छन् ।

उनीहरूले यो अभियान धनुषा जिल्लाबाट सोमबारदेखि सुरु गरेका हुन् । अभिनेत्री प्रियंकाले सोमबार धनुषाको मुरुंगास्थित जनता माविको कार्यक्रममा उपस्थित छात्रालाई महिनावारी हुँदा सुरक्षित रूपमा प्याड प्रयोग गर्ने तरिका सिकाउँदा किशोरीहरू लाजले भुतुक्क भएका थिए ।

तैपनि लाज नमान्न आग्रह गर्दै उनले हजारको संख्यामा रहेका छात्रछात्रा तथा स्थानीबीच प्याड प्रयोग गर्ने तरिका सिकाइन् । त्यतिबेला प्रियंकालाई आयंका फाउन्डेसनका कोषाध्यक्ष तथा अभिनेता आयुष्मान देशराज र फाउन्डेसनका सल्लाहकार सरोज ओलीले पनि साथ दिएका थिए ।

प्रियंकाले सोमबार नै धनुषाका अरू दुईवटा स्कुलमा पुगेर किशोरीलाई महिनावारी हुँदा सुरक्षित रूपमा कसरी प्याड प्रयोग गर्ने भनेर जानकारी गराइन् । उनले धनुषाको जनता मावि मुरुंगा, हरिपुर निगाहपुर मावि हरिपुर र आधारभूत मावि धनुषाधाममा पुगेर त्यहाँका किशोरीलाई सुरक्षित प्याडको प्रयोगबारे जानकारी गराएकी हुन् । हरेक स्कुलमा ती किशोरीलाई स्कुल ब्यागसहित पुनः प्रयोग गर्न मिल्ले प्याड पनि वितरण गरिन् ।

प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । सोही अभियानअन्तर्गत यी दुईले धनुषाबाट यो कार्य सुरु गरेका हुन् ।

‘न महिनावारी, न महिनापारि, म हुँ महिनाभरि’ लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरूको यो आयंका फाउन्डेसनको तर्फबाट पहिलो सामाजिक काम हो । कार्यक्रममा महिला सचेतनामा आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता पनि उनीहरूले प्रतिबद्धता जनाए ।

प्रतिकृया