काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने

मङ्लबार, बैशाख ३, २०७६ | ०१:०२:२६ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राष्ट्रिय जागरण अभियानको घोषणा गर्न लागेको काँग्रेसले जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि पोखरामा भएको एक कार्यक्रमा पार्टीले नयाँ वर्षको सुरुबाटै सङ्गठन सुधारका लागि जागरण अभियान चलाउने बताएका थिए ।

काँग्रेसमा नेताहरुबीच पदीय भागबण्डामा किचलो देखिएपछि नेताकार्यकर्ता निराश भएको भन्दै नेतृत्वको चर्को आलोचना हुनुका साथै कार्यकर्ता तहमा नैराश्यता बढेको छ । काँग्रेस नेताहरुका अनुसार जागरण अभियान तीन चरणमा हुनेछ । पहिलो चरणको अभियान वैशाख ११ गते सुरु गर्ने तयारी छ ।

कार्यक्रम र समयतालिकाको औपचारिक घोषणा आज मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी छ । जागरण अभियान अन्र्तगत पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम पनि चलाउने भएको छ ।

अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा लैजाने योजना काँग्रेसको छ ।

 

प्रतिकृया