प्रतिपक्षी दल काँग्रेसको राष्ट्रिय जागरण अभियान आजबाट सुरु

बुधबार, बैशाख २५, २०७६ | १०:२३:२९ am मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बुधबार देशभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्दैछ ।

सबै जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काङ्ग्रेसले वैशाख २५ गतेदेखि सुरु हुने अभियानको प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको जनाएको छ । काठमाण्डौमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम छ ।

अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ ।

त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) दिन प्रारम्भ भई असोज ७ गते समापन हुने भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए । प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ कार्यक्रम तालिका छ ।

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र काङ्ग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

प्रतिकृया