उपत्यकामा बन्दको आंशिक प्रभाव, उपत्यका बाहिर वढि प्रभाव

सोमवार, जेष्ठ १३, २०७६ | १२:५२:०२ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ।

अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् । सर्वसाधारणमा त्रास फैलाउन विप्लवको नेकपाले सार्वजनिक सम्पत्तिमा बिस्फोट गराएको छ भने केही स्थानमा बम राखेको छ । सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन्।

सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ। काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन्। त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन्। महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन्। अहिलेसम्म प्राप्त विवरणअनुसार बारा, मकवानपुर र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन् ।

बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ। कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन्।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ।

प्रतिकृया