कम्युनिष्ट सरकार गणतन्त्र मास्नतर्फ अग्रसरः देउवा

बुधबार, जेष्ठ १५, २०७६ | ०३:५९:३१ pm मा प्रकाशित
FacebookTwitterGoogle+PrintEmailShare

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकार लोकतन्त्र तथा गणतन्त्र मास्नतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।

आज गणतन्त्र दिवसको अवसरमा कांग्रेसले काठमाडौंको शान्ति बाटिकामा आयोजता गरेको कार्यक्रममा बोल्दै देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रकै विपक्षमा देखिएको बताए। त्यस्तै, प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरुमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको देउवाको आरोप थियो।

सरकार विधेयकहरूमार्फत सञ्चार जगत र मानवअधिकार आयोगमाथि नियन्त्रण गर्न लागिपरेको देउवाको भनाइ थियो। ‘सञ्चार र मानवअधिकारसँग सम्बद्ध क्षेत्रमाथिको नियन्त्रणको अर्थ लोकतन्त्र तथा गणतन्त्रमाथिकै नियन्त्रण हो,’ देउवाले भने। उनले सरकारको गतिविधिले गर्दा फेरि लोकतन्त्र एवं गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउन सक्ने जनाउँदै तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने दायित्व पनि कांग्रेसकै भएको बताए। सत्ताधारी दलका नेताहरूले संघीयता, गणतन्त्र र समावेशीमा विश्वास नगर्ने भएकाले प्रतिपक्षमा भए पनि यि उपलब्धीलाई संस्थागत गर्ने मूल दायित्व कांग्रेसको भएको उनको भनाइ छ।

प्रतिकृया